Skip to main content

प्रदीप अधिकारीको अनुसन्धानमा संलग्न नवीनराज बस्नेत परिवारसहित जर्मनी प्रस्थान

समाचार संक्षेप जाँचपछि। नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीसँग सम्बन्धित ठेकेदार नवीनराज बस्नेत २७ चैतमा परिवारसहित जर्मनी प्रस्थान गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा पक्राउ गरेका अधिकारीमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधसमेत अनुसन्धान भइरहेको छ। अनुसन्धानले अधिकारीलाई धम्की दिने, तान्त्रिक प्रयोग गर्ने र उग्रवादी संगठन खोल्ने प्रयास भएको देखाएको छ। ३० चैत, काठमाडौं। नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीसँग प्रत्यक्ष सम्बन्ध रहेको ठेकेदार नवीनराज बस्नेत परिवारसहित विदेश प्रस्थान गरेका छन्। प्रदीप अधिकारीसँग सम्बन्धित विषयमा समाचार प्रकाशनको तीन दिनपछि बस्नेत विदेशिएका हुन्। दोलखाका ३७ वर्षीय बस्नेत हाल भक्तपुरको एक आवासीय क्षेत्रमा बस्दै आएका थिए र उनले २७ चैत शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेका छन्। उच्च स्रोत अनुसार बस्नेत कतार एअरवेजको क्यूआर ६४७ नम्बरको उडानमार्फत जर्मनी प्रस्थान गरेका हुन्। उनी आफ्नी पत्नी एलिसा गौतमसहित विदेश पुगेका छन्। कतार एअरवेजको यात्रु सूचीमा बस्नेतको नाम १३ औं स्थानमा देखिन्छ। बस्नेतको संलग्नतामा अधिकारीले सामसुम मुद्दालाई समाधान गर्न शक्तिकेन्द्रमार्फत चलखेल गरेको, तान्त्रिक र अन्डरवर्ल्ड डनको नाम लिएर धम्की दिएको विषयमा २४ चैतमा समाचार प्रकाशित भएको थियो। खबर प्रकाशित भएपछि बस्नेतले आरोप अस्वीकार गरेका थिए, तर तीन दिनपछि परिवारसहित विदेश प्रस्थान गरे। उनी विदेश गएकोले आरोप थप पुष्टि भएको अनुसन्धानकर्ताहरूले बताएका छन्। भ्रष्टाचारको आरोपमा अख्तियारले १७ मंसिरमा अधिकारीलाई पक्राउ गरी मुद्दा दर्ता गरेको थियो। भक्तपुरको नलिञ्चोक हेलिपोर्ट निर्माणमा अनियमितता भएको आरोपमा अधिकारी २१ मंसिरमा डिल्लीबजार कारागार चलान भएका थिए। नलिञ्चोक हेलिपोर्टसँग सम्बन्धित मुद्दासँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचारसम्बन्धी दुई मुद्दा पनि अधिकारीविरुद्ध दायर छन्। नलिञ्चोक हेलिपोर्ट र पोखरा विमानस्थल भ्रष्टाचारको मुद्दामा जेल चलान भएका अधिकारीमाथि अहिले सम्पत्ति शुद्धीकरण, संगठित अपराध, आपराधिक लाभ लिन नहुने लगायतका विषयमाथि अनुसन्धान जारी छ। यसै प्रक्रियामा नवीनराज बस्नेत पनि संलग्न रहेको पाइएको छ। उनी अधिकारीसँग नजिक रहेका व्यक्ति हुन् र अख्तियारलाई मिलाउन सक्रिय छन्। बस्नेत ती हुन् जसले तीन वर्षअघि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भित्रको ट्याक्सी वे र एप्रोनको ठेक्का पाएका थिए। उक्त ठेक्का आशिष–क्षमादेवी–बुद्ध हिमाली जेभी समूहले पाएको थियो। त्यो समयमा बस्नेत क्षमादेवी समूहसँग आबद्ध थिए। अधिकारी र बस्नेतको ह्वाट्स एप च्याटमा अख्तियारलाई मिलाउने कुरामा स्पष्ट संवाद भेटिएको छ। बस्नेतले राजेश बज्राचार्यमार्फत अधिकारीलाई भ्रष्टाचार मुद्दा निस्तेज गर्ने आश्वासन दिएको देखिन्छ। प्रदीप अधिकारीले २३ नोभेम्बर २०२५ गते राति ११:०७ बजे ह्वाट्स एपमा नवीनबस्नेतलाई ‘राजेश दाइसँग कुरा भयो’ लेखेका छन्। उनीहरुबीच बस्नेतले ११:१० बजे ‘कुर्दै छु’ भने र अर्को सन्देशमा ‘बासँग पनि भेट्छु। दाइ, मसँगै छौं’ भनेका थिए। २५ नोभेम्बरको राति ११:१० बजे बस्नेतले अधिकारीलाई ‘गति छाडेर भए पनि गर्छु दाइ, टेन्सन नलिनू’ भनी सन्देश पठाएको फेला परेको छ। अख्तियारसँग मुद्दा सामसुम गर्न असफल भएपछि, अधिकारीमाथि तान्त्रिक प्रयोग गर्ने, उग्रवादी संगठन खोलेर धम्की दिने र अख्तियार प्रमुख प्रेम राईलाई राजीनामा गराउने प्रयास भएको अनुसन्धानले देखाएको छ। उग्रवादी संगठनको लेटर प्याड समेत बस्नेतले अधिकारीलाई ह्वाट्स एपमार्फत पठाएको खुलेको छ। डिजिटल फरेन्सिक ल्याब (डीएफएल) रिपोर्ट अनुसार उक्त लेटर प्याड बस्नेतको मोबाइल नम्बरबाट प्रसारित भएको हो। त्यो लेटरबाट प्रकाश पाठकले अख्तियार प्रमुखसहित १० जनालाई हत्या गर्ने धम्की दिएका थिए। धम्की भिडियो मार्फत दिइएको थियो र पाठकले यो कामको लागि २ करोड रुपैयाँ सुपारी पाएको तथ्य पनि देखिएको छ। तान्त्रिक विधिबाट आरोपमुक्त हुन प्रदीप अधिकारीले भारतको आसाम राज्य गुवाहाटीस्थित कामाख्या देवी मन्दिरका भारतीय तान्त्रिक बाबा, सरया किन्नेरा (जय जगदब्बे) को सहयोग लिएका छन्। अधिकारीले अख्तियार प्रमुख राईको फोटो पठाएर तान्त्रिक क्रियाकलाप गराएका छन् र जय जगदम्बे बाबाले तान्त्रिक मन्त्र गर्दै राईको प्रतिमा नष्ट गरेको भिडियो समेत अधिकारीलाई पठाएको छ। अहिले फरार रहेका बस्नेत त्यो व्यक्ति हुन् जसले २०७७ वैशाख १० मा तत्कालीन समाजवादी पार्टी फुटाउन महोत्तरी पुगेका सांसद तथा पूर्वस्वास्थ्य मन्त्री सुरेन्द्र यादवलाई काठमाडौं ल्याउने अपहरण घटनामा समेत संलग्न रहेको बताइएको छ। अघिल्लो समयमा बस्नेतको नाम गुण्डागर्दीसँग जोडिँदै आएको छ।