Skip to main content

नयाँ वर्षमा चोलुङ पार्कदेखि तीनजुरे हुँदै गुफापोखरीसम्म पर्यटकको मुख्य आकर्षण

१ वैशाख, तेह्रथुम। पूर्वी नेपालको मुख्य पर्यटकीय गन्तव्य चोलुङ पार्कदेखि तीनजुरे हुँदै गुफापोखरीसम्मको क्षेत्र नयाँ वर्षको अवसरमा पर्यटकहरूको प्रमुख आकर्षण बनेको छ। तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगम क्षेत्रमा फैलिएको तीनजुरे-मिल्के-जलजले (त्:व्) पदमार्ग हाल प्रकृतिप्रेमी, ट्रेकिङ रुचाउनेहरू र फोटोग्राफरहरूको केन्द्र भएको छ। वसन्त ऋतुमा यो क्षेत्र गुराँसको बहुरंगी संसारमा परिणत हुन्छ। ‘गुराँसको राजधानी’ भनेर परिचित यस क्षेत्रमा नयाँ वर्षको दिन हजारौं पर्यटकहरूको भीड लाग्ने गर्दछ। विभिन्न प्रजातिका गुराँसले डाँडाकाँडा रातामय भएपछि यहाँको प्राकृतिक सौन्दर्य अझै मनमोहक बन्छ। तीनजुरे डाँडादेखि मिल्के र जलजले क्षेत्रसम्म फैलिएको गुराँसे वन पर्यटकहरूको पहिलो रोजाइ बन्न सफल भएको छ।

चोलुङ पार्क यस क्षेत्रको प्रवेशद्वारको रुपमा कार्य गर्छ। यहाँबाट यात्रा आरआर गार्डेन, घुर्पिसे, पाथीभरा हुँदै उकालो चढेर तीनजुरे डाँडासम्म पुग्छ। तीनजुरेबाट देखिने कञ्चनजंघा, मकालु र कुम्भकर्ण हिमालको मनमोहक दृश्यले दर्शकलाई मन्त्रमुग्ध बनाउँछ। तीनजुरेबाट अघि बढ्दा पर्यटकहरूले चौकीबजार र मंगलबारे हुँदै मिल्के–जलजले क्षेत्रमा रहेको गुफापोखरीसम्म पुग्छन्। धार्मिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण गुफापोखरीको शान्त वातावरण, वरिपरिको गुराँसे वन र चिसो हावाले पर्यटकलाई आध्यात्मिक तथा मानसिक शान्ति दिन्छ। नयाँ वर्षको अवसरमा यस स्थानको चहलपहल झन् बढ्ने गर्दछ। नेपालका पूर्वी तराइका जिल्लाहरू मात्र होइन छिमेकी भारतका सिक्किम, दार्जिलिङ र पश्चिम बंगालबाट पनि हजारौं पर्यटकहरू यहाँ आउने गर्छन्।

गुराँस फुल्ने मौसम, हिमालको सुन्दर दृश्य र चिसो मौसममा नयाँ वर्ष मनाउने उद्देश्यले यहाँ पर्यटकको उल्लेखनीय भीड लाग्ने गरेको छ भने स्थानीयवासीहरूले पनि यो कुरा पुष्टि गर्छन्। पर्यटकहरूको बढ्दो संख्या कारण यहाँका होटल तथा होमस्टेहरू पूर्ण रूपमा भरिन्छन्। गुफा बजारका होटल व्यवसायी हिमा खनालका अनुसार नयाँ वर्ष र गुराँस फुल्ने सिजनमा दुई–चार दिन मात्र नभई अझै अघि नै कोठा बुकिङ गर्नुपर्ने अवस्था हुन्छ। स्थानीय श्रीप्रसाद कार्कीका अनुसार यस मौसममा होटल तथा होमस्टेहरू दुवैलाई पर्यटकहरूको चाप जाल्न चुनौतीपूर्ण हुन्छ। यहाँ ठूला र साना दुवै सवारीसाधनबाट सहज रूपमा पुग्न सकिँदा पर्यटक आकर्षण निरन्तर बढिरहेको छ।

सडक सञ्जाल विस्तारसँगै मोटरसाइकल, जीप र बसमार्फत पर्यटकहरूले नजिकसम्म सजिलै पुग्न सकेका छन्। यस सहज पहुँचले त्:व क्षेत्रलाई अन्य दुर्गम पर्यटकीय गन्तव्यभन्दा फरक स्थानमा पुर्याएको छ। बढ्दो सवारी सञ्‍चार व्यवस्थित गर्न घुर्पिसे क्षेत्रमा बसपार्क पनि निर्माण गरिएको छ। यसले यातायात व्यवस्थापन, ट्राफिक नियन्त्रण र पर्यटक आवतजावतलाई सहज बनाउन महत्वपूर्ण भूमिका खेलेको छ। स्थानीय तह र समुदायको सहकार्यमा गरिएको प्रयासले पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव ल्याएको छ। त्:व क्षेत्र जैविक विविधताको दृष्टिले अत्यन्त समृद्ध छ। यहाँ सयौं प्रजातिका वनस्पति, दुर्लभ जडीबुटी, चराचुरुङ्गी र वन्यजन्तु पाइन्छ। ट्रेकिङको हिसाबले पनि चोलुङ पार्कदेखि गुफापोखरीसम्मको यात्रा शान्त, सुरक्षित र रमणीय मानिन्छ। गाउँ–गाउँ जोड्ने पदमार्ग, स्थानीय सांस्कृतिक जीवन, होमस्टे व्यवस्था र अर्गानिक खाना अनुभवले पर्यटकलाई ग्रामीण जीवनशैलीसँग नजिक पुर्‍याउँछ। तथापि, यति ठूलो सम्भावना हुँदाहुँदै पूर्वाधार विकास, प्रचार–प्रसार र दीर्घकालीन पर्यटन व्यवस्थापनमा अझ सुधार आवश्यक छ। सम्बन्धित निकायहरूले योजनाबद्ध र छरितो कार्यान्वयन गरेमा यो क्षेत्र नेपालकै प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्नेछ। नयाँ वर्षमा चोलुङ पार्कदेखि तीनजुरे हुँदै गुफापोखरीसम्मको यात्रा प्रकृति, संस्कृति र शान्तिको खोजी गर्नेहरू र साहसिक पदयात्रा रुचाउनेहरूको लागि उत्कृष्ट विकल्प बनेको छ। गुराँसले रंगिएको डाँडा, हिमालको मनमोहक दृश्य, सहज पहुँच र व्यवस्थित सवारी व्यवस्थापनले यो क्षेत्रलाई साँच्चै ‘नयाँ वर्षमा घुम्नै पर्ने गन्तव्य’को रुपमा स्थापित गरेको छ।