Skip to main content

हर्क साम्पाङको सम्पत्ति विवरण: ४-५ तोला सुन र २-४ लाख बैंक ब्यालेन्स रहेको खुलासा

१ वैशाख, काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले चाँडै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मङ्गलवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आफ्नो नाममा जग्गा जमिन नभएको र सामान्य बैंक ब्यालेन्स तथा केही सुन मात्र रहेको प्रारम्भिक जानकारी दिएका छन्। जनस्तरबाट सम्पत्ति विवरण मागिएपछि त्यसको जवाफ दिंदै सांसद साम्पाङले आफ्नो नाममा कुनै अचल सम्पत्ति नभएको दाबी गरेका छन्।

‘मेरो सम्पत्ति विवरण चाहिएको रहेछ, केही दिनभित्र सार्वजनिक गर्नेछु,’ उनले भनेका छन्, ‘मेरो नाममा केही छैन। वैदेशिक रोजगारीबाट कमाएको ४–५ तोला सुन होला। बैंक ब्यालेन्स २–४ लाख रुपैयाँ मात्र होला।’ उनले आफ्नो पैतृक सम्पत्तिका रूपमा खोटाङमा केही खेतबारी मात्र रहेको र त्यो पनि आमाको नाममा रहेको कुरा पनि उल्लेख गरेका छन्।

खोटाङको केपिलासगढी गाउँपालिका–२ चोखाने गाउँमा भिरालो पाखा, खरबारी, बाँस र उत्तिसघारीसहित थोरै खेतबारी आमाको नाममा रहेको बताएका छन्। बुवाआमाले कमाएको उक्त पैतृक सम्पत्तिमा दाजु-बहिनीहरूले अहिलेसम्म कुनै अंश लिएको छैन भन्ने कुरा पनि साम्पाङले स्पष्ट पारेका छन्। जनप्रतिनिधिहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था र नागरिकतर्फबाट उठाएका प्रश्नहरूलाई सम्बोधन गर्दै उनले औपचारिक रूपमा सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।