
गायिका शान्तिश्री परियारलाई मुलुकका ५० प्रभावशाली महिलाको सूचीमा समावेश गरिएपछि अनलाइनखबरको कार्यालयमा सम्मान गरिएको छ। उनले सम्मानले आफूलाई थप जिम्मेवारी र कर्तव्यबोध बनाएको उल्लेख गर्दै ट्रफी र प्रमाणपत्र ग्रहण गरेको तस्वीर सामाजिक सञ्जालमा सेयर गरेकी छन्। शान्तिश्रीले १६ वर्षको उमेरमा संगीत सपना लिएर काठमाडौं आएर लोक र पाश्र्वसंगीत क्षेत्रमा संघर्षशील र सम्मानित नाम बनाएकी छन्।
गायिका शान्तिश्री परियारले ‘मुलुकका ५० प्रभावशाली महिला’ को सूचीमा छनोट हुँदा आफूले गौरवान्वित महसुस गरेको बताएकी छन्। अनलाइनखबरको कार्यालयमा आइपुगेर बुधबार उनले सम्मान ग्रहण गरेकी हुन्। प्रधानसम्पादक बसन्त बस्नेतले गायिका परियारलाई सम्मानस्वरूप ट्रफी र प्रमाणपत्र प्रदान गरे। ललितपुरको पुल्चोकमा आयोजित कार्यक्रममा अन्य सम्मानित महिलाले अवार्ड ग्रहण गरेपनि शान्तिश्री त्यहाँ पुगेकी थिइनन्।
अवार्ड ग्रहणका तस्वीर सामाजिक सञ्जालबाट सेयर गर्दै परियारले उत्साह व्यक्त गरेकी छन्। यो सम्मानले आफूलाई थप जिम्मेवारी र कर्तव्यबोध बनाएको उनले उल्लेख गरेकी छन्। उनले लेखेकी छन्, “यति सुन्दर र गर्विलो उपाधि। वर्षको सर्वोत्कृष्ट प्रभावशाली ५० महिलामा सम्मानित हुन पाउँदा अत्यन्तै गौरवान्वित महसुस गरेकी छु।”
पूर्वनिर्धारित कार्यक्रम र कार्यव्यस्तताको कारणले सशरीर उपस्थित भएर ग्रहण गर्न नपाए पनि, उनले अनलाइनखबरकै कार्यालयमा गएर यो प्राप्त सम्मान लिएर आएको बताइन्। शान्तिश्री लोक र पाश्र्वसंगीत क्षेत्रकी चर्चित गायिका हुन् र हालका दिनमा एकपछि अर्को हिट गीत दिइरहेकी छन्।






