Skip to main content

चीनको अमेरिकालाई चेतावनी: ट्यारिफ बढाए जवाफी कदम चाल्ने

२ वैशाख, काठमाडौं । चीनले अमेरिकाले चिनियाँ उत्पादनमा ट्यारिफ (आयात कर) बढाए जवाफी कदम चाल्ने चेतावनी दिएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बुधबार सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै चीनले इरानलाई सैन्य मद्दत नगरेको पनि दाबी गरेका छन्। पछिल्ला केही दिनयता अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चीनले इरानलाई सैन्य सहायता प्रदान गरिरहेको भनेर समाचारहरू आएका थिए। ती समाचारलाई चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जियानले खण्डन गरेका छन्।

‘चीनमाथि इरानलाई सैन्य मद्दत दिएको आरोप लगाउने मिडिया रिपोर्टहरू पूर्ण रूपले झुठा छन्,’ जियानले एक्समा लेखेका छन्। ती समाचारअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले इरानलाई सैन्य सहायता प्रदान गरेमा अमेरिकाले चिनियाँ आयात सामग्रीमा ५० प्रतिशत ट्यारिफ लगाउने चेतावनी दिएका थिए। ‘यदि अमेरिकाले ती आरोपको आधारमा चीनमाथि ट्यारिफ बढायो भने चीन जवाफी कदम चाल्नेछ,’ जियानले थप लेखेका छन्।