
सिंहदरबार वैद्यखानाले यस वर्ष शिलाजित र मिमियालजस्ता आयुर्वेदिक औषधि विश्व स्वास्थ्य संगठनको जीएमपी मापदण्डमा उत्पादन गर्ने तयारी गरेको छ। वैद्यखानाले चालु आवमा १०३ प्रकारका औषधि उत्पादन गरिरहेको छ, जुन लक्ष्यभन्दा बढी हो, कार्यकारी निर्देशक डा प्रदीप केसीले बताएका छन्। विगत पाँच वर्ष घाटामा रहेको वैद्यखानालाई औषधि उत्पादन बढाएर नाफामा पु-याइएको छ र वार्षिक ५५ हजार किलो कच्चापदार्थबाट औषधि उत्पादन भइरहेको छ। २ वैशाख, काठमाडौं।
सिंहदरबार वैद्यखानाबाट उत्पादन हुने आयुर्वेदिक औषधिलाई विश्व स्वास्थ्य संगठनको कुशल उत्पादन अभ्यास (जीएमपी) मापदण्डमा लैजाने तयारी गरिएको छ। समितिका कार्यकारी निर्देशक डा प्रदीप केसीले चाँडै वैद्यखानाबाट उत्पादन हुने औषधि जीएमपी मापदण्डमा उत्पादन गरिने बताएका छन्। उनलाई अनुसार यस वर्ष शिलाजित, मिमियालगायत औषधिलाई जीएमपी मापदण्डअनुसार उत्पादन गरिनेछ। आगामी आर्थिक वर्षदेखि चुर्ण र ट्याब्लेटलाई पनि जीएमपी मापदण्डमा उत्पादन गरिने उनको भनाइ छ।
कार्यकारी निर्देशक केसीले आफू समितिको अध्यक्ष भएर आएदेखि औषधि उत्पादन बढेको बताएका छन्। उनका अनुसार १०३ प्रकारका औषधि उत्पादन भइरहेको छ। ‘हामीले लक्ष्यभन्दा बढी औषधि उत्पादन गरिरहेका छौँ। चालु आवमा ८४ औषधि उत्पादन गर्ने लक्ष्य भए पनि हामीले १०३ प्रकारका औषधि उत्पादन गरिरहेका छौँ,’ उनले भने, ‘सबैको सहयोगबाट वैद्यखानामा औषधि उत्पादन बढाइएको छ।’ आव २०८१/८२ मा ७७ औषधि उत्पादन गर्ने भने तापनि ४० प्रकारका औषधि उत्पादन गरिएको थियो। यस्तै, आव २०८०/८१ मा १४ प्रकारका, आव २०७९/२०८० र आव २०७८/२०७९ मा १५ प्रकार, आव २०७७/०७८ मा २५ प्रकारका औषधि उत्पादन भइरहेको थियो। कार्यकारी निर्देशक केसीले विगत पाँच वर्षदेखि घाटामा रहेको वैद्यखानालाई औषधि उत्पादन बढाएर नाफामा पु-याइएको बताएका छन्। वैद्यखानाले चालु आवमा वार्षिक ५५ हजार किलो बराबरको कच्चापदार्थबाट औषधि उत्पादन गर्दै आएको छ। वैद्यखानाले हालसम्म १०१ खरिद आदेशमा सम्झौता गरेर ८५ काम सम्पन्न गरिसकेको छ।






