Skip to main content

कांग्रेसले निर्वाचन ब्युरो गठन गर्‍यो

२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन ब्युरो गठन गरेको छ। बुधबार सम्पन्न केन्द्रीय कार्यसम्पादन समिति बैठकले उक्त निर्णय गरेको हो। कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार, उपसभापति पुष्पा भुसाललाई संयोजक बनाएर ब्युरो गठन गरिएको छ। त्यसैगरी, बैठकले उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान गठन गरिएको जानकारी पनि दिएको छ।

कांग्रेसले महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा ‘सदस्यता व्यवस्थापन केन्द्रीय समिति’ गठन गरेको छ। समितिका सदस्यमा सहमहामन्त्री योगेन्द्र चौधरी र प्रकाश रसाइली ‘‘स्नेही’’ रहेका छन् भने थप एक सदस्य पछि चयन गरिने बताइएको छ। त्यस्तै, महामन्त्री गुरुराज घिमिरेको संयोजकत्वमा संगठन परिचालन तथा समन्वय समिति पनि गठन गरिएको छ, जसका सदस्य सहमहामन्त्री बहादुरसिंह लामा र सहमहामन्त्री मुक्ताकुमारी यादव रहेका छन्।

त्यसै गरी, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी संयोजक रहेको अन्य राजनीतिक दल संवाद समिति र केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ संयोजक रहेको मर्यादाक्रम निर्धारण समिति पनि गठन गरिएको छ। बैठकले सार्वजनिक कार्यक्रम सञ्चालन कार्यविधि-२०८३ प्रदेश र जिल्ला कार्यसमितिको सुझाव समेटेर १ जेठदेखि लागू हुने गरी पारित गरेको छ। पार्टीमा बृहत्तर एकता कायम गर्दै १५औँ महाधिवेशन निर्धारित समयभित्र सम्पन्न गर्नका लागि पार्टीका नेताहरूसँग संवाद गर्न सभापति गगनकुमार थापालाई जिम्मेवारी दिने निर्णय पनि बैठकले गरेको छ।