
२ वैशाख, काठमाडौं । डोटीको शिखर नगरपालिकाले आइतबार विद्यालय बन्द गर्न नहुने भन्दै संघीय सरकारलाई पत्राचार गरेको छ। नगर प्रमुख दीर्घबहादुर बलायरले बुधबार संघीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्र लेख्दै आइतबार बिदा दिने निर्णयले वर्षभरि केवल १३८ दिन मात्रै पठनपाठन सम्भव हुने देखिएको कुरा स्मरण गराएका छन्। संघीय सरकारले आइतबार बिदा दिने निर्णयअनुसार नगरपालिका र विद्यालयहरूले शैक्षिक कार्य योजना तथा कार्य तालिका बनाउनु अत्यन्त कठिन हुने मेयर बलायरको पत्रमा उल्लेख छ।
बिदाको हिसाब–किताब नगरपालिकाको पत्रमा राखिएको छ जहाँ आइतबार बिदा दिएमा वार्षिक विद्यालय क्यालेन्डरको हिसाबमा समस्या आउँछ भन्ने तथ्य प्रस्तुत गरिएको छ। सालभरिका ३६५ दिनमध्ये ५२ दिन शनिबार बिदा हुनेछन् र त्यसमा ५२ आइतबार थप्दा, प्रदेशका ३२ सार्वजनिक बिदा जोड्दा कुल १३६ दिन बिदा हुने खुलेको छ। शिक्षा नियमावली २०५९ को नियम ८५ (२) अनुसार घटस्थापनादेखि पूर्णिमासम्म पाँचदिन दसैं बिदा, नियम ८५ (३) अनुसार हिउँदे वा वर्षे वा दुवै गरी ४५ दिन बिदा, नियम ८५ (४) अनुसार थप ५ दिन स्थानीय बिदा दिनसकिने व्यवस्था रहेकाले यी बिदा जम्मा गरेर थप ५५ दिन हुने कानुनी प्रावधान रहेको पत्रमा भनिएको छ।
‘यसले गर्दा विद्यालय खुल्ने दिन १७४ मात्र बाँकी रहन्छ’, पत्रमा उल्लेख गरिएको छ। यस्तो अवस्थामा शिक्षा नियमावलीको नियम ८४ (५) अनुसार कम्तीमा २२० दिन विद्यालय सञ्चालन हुनु पर्ने प्रावधान उल्लंघन हुने खतरा छ भनी मेयर बलायरले शिक्षा मन्त्रालयलाई सचेत गराएका छन्। ‘नेपालको वर्तमान विद्यालय शिक्षाको पाठ्यक्रम अनुसार कम्तीमा १८०-१९० दिन पठनपाठन अनिवार्य छ,’ पत्रमा भनिएको छ, ‘तर विद्यालय खुल्ने १७४ दिनबाट तीनपटक गरी २१ दिन परीक्षा सञ्चालनका लागि जान्छ। वैशाख १५ गते अगाडि र चैत्र अन्त्यपछि कम्तीमा १५ दिन पठनपाठन हुँदैन।’
आइतबार बिदा दिँदा पठनपाठनका लागि मात्र १३८ दिन बच्ने हिसाब नगरपालिकाले पत्रमा देखाएको छ। ‘अतिरिक्त क्रियाकलाप सञ्चालन, परीक्षा तयारी बिदा, परिणाम सार्वजनिक गर्ने समय, शिक्षक बिदा र विद्यार्थी अनुपस्थितिलाई समेत विचार गर्दा शैक्षिक सत्र भित्र पठनपाठनको उपलब्ध समय निकै कम हुने अवस्था देखिन्छ,’ पत्रमा भनिएको छ। शैक्षिक सत्रको व्यवस्थापन र सञ्चालन निकै चुनौतीपूर्ण हुने अनुमान गरिएको छ। नगर कार्यपालिकाको बैठकले संघीय सरकारलाई राय सुझाव पठाउने निर्णय गर्दै पत्राचार गरेको मेयर बलायरले जानकारी दिनुभयो।
शैक्षिक सत्र व्यवस्थापनको दबाबलाई ध्यान दिँदै यथाशीघ्र समाधान गर्न नगरपालिकाले शिक्षा मन्त्रालयसँग अनुरोध गरेको छ। नभए स्वयं नगरपालिका निर्णय गरेर संघीय निर्णय विपरित आइतबार विद्यालय सञ्चालन गर्ने तयारीमा रहेको मेयर बलायरले बताए। ‘हामी हाम्रा विद्यालय र बालबालिकाको चिन्तामा छौं। वर्षभरि उचित पठनपाठन सुनिश्चित गर्न चाहन्छौं,’ उनले भने, ‘संघीय सरकारले नै यसको समाधान गरोस् भन्ने चाहना राख्छौं, नत्र संविधानले दिएको अधिकारअनुसार हामीले आफैं निर्णय गर्ने स्वतन्त्रता छ।’ नगरपालिकाले उक्त पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी र शिक्षा विकास समन्वय इकाई डोटीलाई पनि जानकारी दिएको छ।






