Skip to main content

रुपन्देहीमा नक्कली नोटसहित चार जना पक्राउ

रुपन्देही प्रहरीले नक्कली नोटसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा कपिलवस्तु, नवलपरासी, सिन्धुपाल्चोक र काठमाडौंका चार जना छन्। पक्राउ परेकाले चैत २२ र २६ गते सिद्धार्थनगर र सैनामैना क्षेत्रमा रु एक हजारका २१ थान नक्कली नोटसहित पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले नक्कली नोटसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरीका अनुसार कपिलवस्तुको वाणगंगा नगरपालिका-२ का ३६ वर्षीय विष्णु श्रेष्ठ, नवलपरासी (पूर्व) देवचली नगरपालिका-१५ का २८ वर्षीय सुजन खनाल भन्ने मुक्तिप्रसाद खनाल, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-८ का ३५ वर्षीय रोलबहादुर श्रेष्ठ र काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-९ का ५३ वर्षीय दीपेन्द्र थापा पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब परीक्षक कृष्णकुमार चन्दका अनुसार जिल्लाका विभिन्न स्थानमा नेपाली नोटको अवैध कारोबार भइरहेको भन्ने प्रहरीलाई विशेष सूचना प्राप्त भएको थियो। उक्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीको निगरानीमा गत चैत २२ गते सिद्धार्थनगर नगरपालिका-५ (भैरहवा) र चैत २६ गते सैनामैना नगरपालिका-१० स्थित भच्कैया बाट रु एक हजारदरका नेपाली नक्कली नोट २१ थानसहित चार जनालाई पक्राउ गरिएको उनले बताए। पक्राउ परेका चारैजनालाई सार्वजनिक गरी सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको उनले बताए।