Skip to main content

नेपालको गर्ल्स टिम एसियाली फाइनलमा दोस्रो स्थानमा छनोट

नेपालको गर्ल्स टिमले आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस प्रतियोगितामा दोस्रो स्थान हासिल गर्दै सिंगापुरमा आयोजना हुने एसियाली फाइनलका लागि छनोट प्राप्त गरेको छ। उक्त प्रतियोगितामा भारत पहिलो र नेपाल दोस्रो स्थानमा रहन सफल भएको हो। श्रीलंका तेस्रो, माल्दिभ्स चौथो तथा पाकिस्तान अन्तिम स्थानमा रहेको छ। ब्वाइजतर्फ भारतले पाकिस्तानलाई ३–० ले हराउँदै पहिलो स्थान हासिल गरेको छ भने नेपाल चौथो स्थानमा रह्यो। ४ बैशाख, काठमाडौं।

नेपालको गर्ल्स टिमले आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस प्रतियोगितामा शुक्रबार दोस्रो स्थान प्राप्त गरेको हो। पाँच राष्ट्र सहभागी उक्त प्रतियोगितामा नेपालले राउन्ड रोबिन लिगमा दोस्रो स्थान हासिल गर्दै आगामी सेप्टेम्बर १५ देखि २० गतेसम्म सिंगापुरमा हुने एसियाली फाइनलमा छनोट भएको हो। भारतले सबै चार खेल जित्दा नेपालले तीन खेल जितेको थियो, जसमा भारतसँग मात्र पराजित भएको थियो। नेपालले श्रीलंका, माल्दिभ्स र पाकिस्तानलाई हराएको थियो।

अन्तिम दिनको खेलमा नेपालले माल्दिभ्सलाई २–१ को सेटमा पराजित गरेको छ। पहिलो सिंगल्समा नेपालकी आर्या पौडेलले लायरा उषामा अलीलाई ६–०, ६–२ को सेटमा हराइन्। अर्को सिंगल्समा माल्दिभ्सकी इश्रा इब्राहिमले नेपालकी सारा पन्तलाई ६–३, ६–३ ले हराउँदै खेललाई १–१ को बराबरीमा पुगेको थियो। डबल्समा नाइरा घले र साराको जोडीले लायरा र इश्राको जोडीलाई ६–३, ६–१ ले पराजित गर्दै नेपालले खेल जितेर सिंगापुर यात्रा सुनिश्चित गरेको छ।

गर्ल्सतर्फ भारतले श्रीलंकालाई ३–० ले पराजित गरेको थियो। सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको प्रतियोगितामा ब्वाइजतर्फ भारत र पाकिस्तानले बिहीबार एसियाली फाइनलका लागि स्थान सुनिश्चित गरिसकेका थिए। अन्तिम दिनको फाइनलमा भारतले पाकिस्तानलाई ३–० को नतिजाले हराउँदै शीर्ष स्थान हात पारेको छ। बंगलादेश बाहेक ६ दक्षिण एसियाली राष्ट्र सहभागी रहेको ब्वाइजतर्फ श्रीलंका तेस्रो, नेपाल चौथो, भुटान पाँचौं र माल्दिभ्स छैटौं स्थानमा रहेका छन्। तेस्रो स्थानको लागि भएको खेलमा श्रीलंकाले नेपाललाई २–१ को सेटमा पराजित गरेको थियो। विजेतालाई नेपाल टेनिस संघका अध्यक्ष मनोहरदास मुल र आईटीएफ डेभलप्मेन्ट अफिसर जानेथन स्तब्सले शुक्रबार एक समारोहमा पुरस्कार प्रदान गरेका छन्।