Skip to main content

तीन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि जाने टोलीको बिदाई समारोह सम्पन्न

इन्टरनेशनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) नेपाल च्याप्टरले तीन अन्तर्राष्ट्रिय तेक्वान्दो टोलीलाई बिदाई गरेको छ। जापानको वाता ओपनमा प्रविण श्रेष्ठ, सन्देश अधिकारी र गणेशबहादुर खड्काले प्रतिस्पर्धा गर्नेछन् भने टोली प्रमुख गिरिबहादुर सुनार रहनुहुन्छ। मलेसिया र चीनमा हुने ओपन च्याम्पियनसिपमा पनि नेपाली खेलाडी र अफिसियलहरू सहभागी हुनेछन्। ४ बैशाख, काठमाडौं।

आइओएफटिसीले शुक्रबार एक कार्यक्रममा केल्मी ब्रान्डको ट्रयाकसुट प्रदान गर्दै तीनै टोलीलाई बिदाई दिएको हो। यस अप्रिल २४ देखि २६ सम्म जापानमा आयोजना हुने वाता ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपालका प्रविण श्रेष्ठ, सन्देश अधिकारी र गणेशबहादुर खड्काले प्रतिस्पर्धा गर्नेछन्। टोली प्रमुख गिरिबहादुर सुनार हुनुहुन्छ, जो आइओएफटिसी नेपालका महासचिव पनि हुन्।

त्यसैगरी, मे २ देखि ३ सम्म मलेसियामा हुने मलेसिया ओपन तेक्वान्दोमा सन्दीप न्यौपाने खेलाडीको रूपमा र दिवाकर केसी अफिसियलको रूपमा सहभागी हुनेछन्। मे २ देखि ५ सम्म चीनमा आयोजना हुने हाइनान अन्तर्राष्ट्रिय ओपन च्याम्पियनसिपमा नेपालका भिजन तामाङ, सन्दीप बस्नेत र आयुश बोहराले प्रतिस्पर्धा गर्नेछन्। इन्द्रराज खड्का अफिसियलको रूपमा सहभागी हुनेछन्। सबै खेलाडी र अफिसियलहरूलाई आइओएफटिसीका अध्यक्ष मिनप्रसाद खनाल र अन्य पदाधिकारीहरूले शुक्रबार बिदाई गरेका थिए।

अमेरिकामा मुख्यालय रहेको आइओएफटिसीले गत पुसमा आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा नेपालमा १५औं संस्करणको प्रतियोगिता आयोजना गरेको थियो। आगामी नोभेम्बरमा १६औं संस्करण अस्ट्रेलियाको मेलवर्नमा आयोजना गर्ने तयारी आइओएफटिसीले जनाएको छ।