
समाचार संक्षेप
सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत छैटौं प्रतियोगितामा निरज तामाङले उपाधि सफलतापूर्वक रक्षा गर्दै आफ्नो पाँचौं करियर उपाधि जितेका छन्। निरजले फाइनलमा १०औं सिडेड टंक बहादुर कार्कीलाई ३/२ ले हराउँदै नगद १ लाख पुरस्कार पाएका छन्। प्रतियोगितामा शीर्ष १६ खेलाडीहरू सहभागी थिए र कुल पुरस्कार राशि ४ लाख २५ हजार रुपैयाँ रहेको थियो।
४ वैशाख, काठमाडौं। पूर्व विजेता निरज तामाङले सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत छैटौं प्रतियोगितामा सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि सफलतापूर्वक रक्षा गरेका छन्। यो उनको करियरमा पाँचौं उपाधि हो। लगातार दोस्रो पटक उपाधि जित्दै नेपालका नम्बर एक गल्फर निरजले १०औं सिडेड टंक बहादुर कार्कीलाई ३/२ को अन्तरले हराउँदै उपाधि जितेका हुन्। जारी सिजनको यो उनको दोस्रो उपाधि हो र उनले नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे।
रोयल नेपाल गल्फ क्लबमा आयोजित ३६ होलको फाइनलमा टंकले निरजलाई कहिल्यै पछाडि पार्न सकेनन्। नवौं होल पछि निरजले २ होलको अग्रता लिएका थिए भने १८औं होल सकिँदा उनले ५ होलको स्पष्ट अग्रता कायम राखे। टंकले २०औं होल जितेर अग्रता ४ होलमा झारे पनि २२औं होलमा निरजले इगल प्रहार गरेपछि फेरि ५ होलको अग्रता बनाएका थिए। टंकले पछि २३औं, २४औं र २५औं होल जितेर अग्रता २ होलमा झारे। तर निरजले ३३औं होल जितेपछि र ३४औं होल बराबरीमा सकिँदा, उनले ३/२ को अन्तरले उपाधि रक्षा गर्न सफल भए।
टंकले आफ्नो प्रोफेसनल करियरमा पहिलो उपाधि जित्न सकेनन् र नगद ७५ हजार रुपैयाँ पुरस्कार पाए। छैटौं स्थानका रवि खड्का तेस्रो स्थानमा पुगे जसले चौथो वरियताका सञ्जय लामालाई ३/१ ले पराजित गरे। उनीहरूले क्रमशः ५६ हजार र ४२ हजार रुपैयाँ पुरस्कार पाए। प्रतियोगिताका विजेतालाई सूर्य नेपाल प्रालिका ब्रान्ड म्यानेजर विदुरराज अधिकारी, नेपाल गल्फ संघका अध्यक्ष टासी घले र रोयल नेपाल गल्फ क्लबका कोषाध्यक्ष रोशन राईले पुरस्कार वितरण गरेका थिए। तीन दिन चल्ने प्रतियोगितामा सूर्य नेपाल गल्फ टुर २०२४-२५ को अर्डर अफ मेरिटका शीर्ष १६ खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए। कुल पुरस्कार राशी ४ लाख २५ हजार रुपैयाँ थियो। क्वाटरफाइनल पुग्न सफल चार खेलाडी रामे मगर, जयराम श्रेष्ठ, दिनेश प्रजापति र भुवन नगरकोटीले १८ हजार प्राप्त गरे। पहिलो चरणबाट बाहिरिएका सूर्य प्रसाद शर्मा, भुवन कुमार रोक्का, रमेश अधिकारी, दीपक मगर, बलभद्र राई, धन बहादुर थापा र कृष्णमान राजबाहकले जनही १० हजार रुपैयाँ पुरस्कार पाए।






