Skip to main content

राजन र सन्तोषीले कान्तिपुर हाफ म्याराथनको उपाधि जिते

त्रिभुवन आर्मी क्लबका राजन रोकायाले पहिलोपटक र धादिङकी सन्तोषी श्रेष्ठले लगातार दोस्रो पटक कान्तिपुर हाफ म्याराथन २१.१ किलोमिटरको उपाधि जितेका छन्। कान्तिपुर मिडिया ग्रुपको आयोजनामा शनिबार सम्पन्न १४औं कान्तिपुर हाफ म्याराथनमा अहिलेसम्मकै सबैभन्दा बढी ४ हजार धावकले सहभागिता जनाएका थिए। पुरुषतर्फ राजनले १ घन्टा ४.०३ मिनेट र महिलातर्फ सन्तोषीले १ घन्टा १८.११ मिनेटमा दौड पूरा गरी विजेता बनेका थिए।

कान्तिपुर मिडिया ग्रुपको आयोजनामा ‘रन फर नेपाल’ नारासहित शनिबार कान्तिपुर हाफ म्याराथनको १४औं संस्करण आयोजना गरिएको थियो। दक्षिण एसियाली खेलकुदमा तीन स्वर्ण र चार पटक ओलम्पिकमा सहभागिता जनाइसकेका कीर्तिमानी धावक वैकुण्ठ मानन्धरले दौडको उद्घाटन गरेका थिए। हाफ म्याराथनबाहेक कर्पोरेट एन्ड इन्फ्लुन्सर रन (५ किमि), एक्स्ट्रिम कलेज रन (७ किमि), ह्विलचेयर रेस (३ किमि) गरी चार विधामा प्रतिस्पर्धा भएको थियो।

कान्तिपुर हाफ म्याराथनमा पुरुष र महिलातर्फको विजेतालाई नगद १ लाख ५० हजार र ट्रफी प्रदान गरिएको थियो। सन्तोषीले गत वर्ष १ घन्टा २३.२८ मिनेटमा दौड पूरा गरेकी थिइन्। यसपाली हाफ म्याराथन विधिमा ‘एक्युरेट टाइमिङ’ निकाल्न हरेक खेलाडीमा चिप्स प्रयोग गरिएको थियो।