Skip to main content

खड्का निवास बैठकको निष्कर्ष: विवादमा असहमति भएपनि निर्णयलाई स्वीकार गर्ने

५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको विवाद समाधानका लागि धारणा तय गर्नका लागि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवास गोल्फुटारमा सम्पन्न भएको पूर्वपदाधिकारी बैठक समाप्त भएको छ। बैठकपछिको पत्रकार भेटघाटमा निवर्तमान शेरबहादुर देउवा पक्षका नेता मीनबहादुर विश्वकर्माले पार्टी विवाद समाधानमा सर्वोच्च अदालतको फैसलामा विभिन्न असहमति भएता पनि आफ्नो पक्षले उक्त निर्णयलाई स्वीकार गर्ने विषयमा छलफल भएको जानकारी दिए। ‘नेपाली कांग्रेस सधैं कानूनी शासनलाई मान्ने र शक्ति पृथकीकरणको सिद्धान्तअनुसार स्वतन्त्र न्यायपालिकाको आदेश तथा निर्णयलाई आत्मसाथ गर्नेधारणामा निरन्तर अघि बढिरहेको छ,’ विश्वकर्माले भने।

‘उक्त परम्पराअनुसार, हाम्रो पार्टीका अग्रज नेता तथा निवेदकहरूले फैसलामा पर्याप्त असन्तुष्टिका बावजुद पनि विरोधाभाषपूर्ण र विवादास्पद हुँदा पनि यो निर्णय स्वीकार गर्ने विषयमा आज छलफल भयो।’ उनले थपे। आजको छलफल कुनै औपचारिक बैठक नभइ अनौपचारिक भेटघाट र संवाद मात्र भएको उनले स्पष्ट पारे। ‘यस छलफलमा आगामी दिनमा पार्टीलाई कसरी एकताबद्ध बनाउने भन्ने विषयमा परामर्श भएको थियो। विभिन्न बैठकहरू निरन्तर सञ्चालन गरिनेछन् र देशका विभिन्न भागबाट आएका सदस्यहरू तथा पदाधिकारीहरूबाट सुझाव तथा परामर्श लिने र अन्ततः एउटा निष्कर्षमा पुगिनेछ,’ उनी भन्छन्।

फैसलाअघि पूर्णबहादुर खड्कालाई ‘कार्यवाहक सभापति’ रहेको उल्लेख गर्दै विश्वकर्माले हिजोदेखि ‘निवर्तमान कार्यवाहक सभापति’ भएको जानकारी दिए। ‘उहाँ अदालतमा कार्यवाहक सभापतिको हैसियतमा जानुभएको हो। मुद्दा विचाराधीन रहेको बेला उहाँ कार्यवाहक सभापति नै हुनुहुन्थ्यो,’ उनले भने। अदालत निर्णयलाई स्वीकार गर्दै अब कार्यवाहक सभापतिको हैसियतमा समानान्तर गतिविधि नहुने पनि उनले बताए। ‘हामीले उक्त निर्णय स्वीकार गरेका छौं। यो कानुनी तथा वैधानिक विषय टुंगिएको छ। राजनीतिक विषय भनेको पार्टी एकताको विषय हो,’ उनले स्पष्ट पारे।

पार्टी एकताको विषयमा लगातार चिन्ता व्यक्त भइरहेको उनले बताए। ‘हामी मात्र होइन, सबै पक्षहरूले अब पार्टीलाई कसरी अघि बढाउने भन्ने विषयमा चिन्ता गर्नु पर्दछ,’ उनले भने। विमलेन्द्र निधिले फैसला स्वीकार नगर्ने बताएको छैन भनी उनले जानकारी दिए। ‘फैसला त मान्नुपर्छ तर निर्णयका केही त्रुटिपूर्ण पक्षहरू स्वीकार्य नभएको उहाँको भनाइ हो।’ अदालतको निर्णयप्रति विभिन्न असहमति भएता पनि स्वतन्त्र न्यायालयको आदेशलाई मान्ने उनी बताउँछन्। खड्का निवासमा पार्टी एकताका लागि आवश्यक जिम्मेवारी अब सभापति गगन थापाको हातमा रहेको विषयमा पनि छलफल भएको उनले बताए।