Skip to main content

सिरहा नगर प्रमुख यादवविरुद्धको मुद्दा अंगभंगसम्बन्धीमा परिणत

६ वैशाख, सिरहा । सिरहा नगरपालिकाका प्रमुख नवीनकुमार यादव विरुद्ध दर्ता गरिएको अभद्र व्यवहारसम्बन्धी मुद्दा अनुसन्धानको क्रममा अंगभंगसम्बन्धी कसुरमा परिणत भएको छ। कार्यालय सहयोगी ५० वर्षीय रामशरण यादवमाथि भएको कुटपिटबाट छातीको करङ भाँचिएको अस्पतालको रिपोर्ट पुष्टि भएपछि मुद्दा परिवर्तन गरिएको प्रहरीले जनाएको छ। चैत २३ गते बिहान हाजिरी दिँदै गर्दा नगर प्रमुख यादवले गालीगलौज गर्दै लात्ति र मुक्काले कुटपिट गरेको आरोप लाग्दछ।

घटनापछि चैत २५ गते जिल्ला प्रहरी कार्यालय, सिरहाले नगर प्रमुख यादव र कुटपिटमा संलग्न अर्का कर्मचारी रोहित मेस्तरविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो। मेस्तर पक्राउ परिसके पनि नगर प्रमुख यादव हालसम्म फरार छन् र खोजी जारी रहेको सिरहा प्रहरी प्रवक्ता रमेशबहादुर पालले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार, अब मुद्दा अंगभंगसम्बन्धी कसुरमा परिणत भएसँगै यसले अदालतमा छिरिनेछ। पहिला अभद्र व्यवहारको मुद्दा जिल्ला प्रशासन कार्यालयमा हेर्ने व्यवस्था थियो।

यता मेयर पक्राउ नपर्नुका विषयमा स्थानीय र आफन्तबीचमा विवाद देखिएको छ। रामकुमार यादवले प्रहरी प्रशासनकै मिलेमतो रहेको आरोप लगाउँदै भन्नुभएको छ कि सामान्य नागरिकमाथि मुद्दा दर्ता हुँदा तत्काल पक्राउ गरिन्छ, तर नगर प्रमुखमाथि मुद्दा परिवर्तन भए पनि पक्राउ नहुनु शङ्कास्पद देखिएको छ। ‘सर्वसाधारण तुरुन्त पक्राउ पर्ने, तर मेयर पक्राउ नपर्नुले प्रहरीकै सहकार्य हुनसक्छ’ उहाँले आरोप लगाउनुभयो।