Skip to main content

२५औं आइटीएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा नेपाल आर्मी टोली च्याम्पियन बन्दै

२५औं आइटीएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा नेपाल आर्मी टोलीले १९ स्वर्ण सहित च्याम्पियनको उपाधि हात पारेको छ। प्रतियोगितामा आर्मीका सुमन मरासिंगी मगर र रिना धिमाललाई उत्कृष्ट खेलाडीको रूपमा घोषणा गरिएको छ। यू-१५ आइटीएफ प्रतियोगितामा बागमती प्रदेशले पहिलो स्थानमा कब्जा जमाएको छ। ६ वैशाख, काठमाडौं।

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआइटीएफ) को आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न दुईदिने प्रतियोगितामा आर्मीले १९ स्वर्ण, ४ रजत र ९ कांस्य पदक जित्दै च्याम्पियन बनेको हो। यस्तै, बागमतीले ७ स्वर्ण, १० रजत र ९ कांस्यसहित दोस्रो स्थान पाएको छ भने एपीएफले ४ स्वर्ण, ७ रजत र ६ कांस्य सहित तेस्रो स्थान हासिल गरेको छ।

व्यक्तिगततर्फ पनि आर्मीका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्। सुमन मरासिंगी मगर पुरुषतर्फ र रिना धिमाल महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भएका छन्। सुमनले ३ स्वर्ण र रिनाले ५ स्वर्ण पदक जितेका छन्। विभिन्न विधाअन्तर्गत खेलाडीहरूले एकल स्पारिङ, एकल प्याटर्न, समूह स्पारिङ, समूह प्याटर्न तथा सेल्फ डिफेन्समा प्रतिस्पर्धा गरेका थिए।

त्यस्तै, दोस्रो यू-१५ आइटीएफ प्रतियोगितामा बागमती पहिलो, लुम्बिनी दोस्रो र कर्णाली प्रदेश तेस्रो स्थानमा रहेका छन्। बागमतीले ९ स्वर्ण, ५ रजत र ७ कांस्य पदक, लुम्बिनीले ४ स्वर्ण, ६ रजत र ७ कांस्य र कर्णालीले ४ स्वर्ण, ५ रजत र ७ कांस्य पदक जितेको छ। यू-१५ वर्गमा पुरुषतर्फ गण्डकीका सचिन कुमाल र महिलातर्फ बागमतीकी आकृति नेपाल उत्कृष्ट खेलाडी घोषणा गरिएका छन्। प्रतियोगितामा जूनियर र सिनियर तहमा प्याटर्न र स्पारिङ गरी कुल दुई सयभन्दा धेरै खेलाडीले सहभागिता जनाएका थिए भन्ने जानकारी महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीले दिएका छन्। प्रतियोगितामा सातै प्रदेशसहित नेपाल आर्मी र सशस्त्र प्रहरी बलको एपीएफ गरी कुल ९ टोलिहरूको सहभागीता थियो।