
नेपाल जेनजी फ्रन्टले अनधिकृत संरचना खाली गराउने क्रममा राज्यद्वारा गरिएको क्रूर र अमानवीय दमनको कडा भर्त्सना गरेको छ। फ्रन्टले विस्थापित नागरिकहरूका लागि उचित विकल्प र वैज्ञानिक व्यवस्थापन सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। संरचना तोडफोड गर्ने क्रममा भएका अमानवीय व्यवहारप्रति कडा आपत्ति जनाउँदै सुरक्षा संयन्त्रलाई मानवता सम्बन्धी तालिम दिन अपिल गरेको छ। ७ वैशाख, काठमाडौं।
नेपाल जेनजी फ्रन्टले अनधिकृत संरचना खाली गराउने नाममा नागरिकको आवास र जीवनमाथि राज्यले गरेको क्रूर र अमानवीय दमन प्रहारलाई कडा भर्त्सना गरेको छ। सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा फ्रन्टले कुनै पनि ठोस विकल्प वा पुनर्स्थापनाको व्यवस्था नगरी विपन्न नागरिकको बासस्थान र व्यवसायमाथि बलपूर्वक डोजर चलाउनु गैरजिम्मेवारपनको चरम उदाहरण भएको उल्लेख गरेको छ।
दशकौँदेखि साना व्यापार गरेर जीविकोपार्जन गर्दै आएका कम आम्दानी भएका सर्वसाधारणलाई सडकछाप बनाउनु राज्यको योजना र नियतप्रति गम्भीर प्रश्न उठाउने काम भएको फ्रन्टको भनाइ छ। विज्ञप्तिमा सरकारलाई सोध्दै भनिएको छ, ‘के सरकारले विस्थापित नागरिकहरूको भविष्य र आर्थिक व्यवस्थापनका विषयमा कुनै योजना बनाएको छ?’
फ्रन्टले कुनै पनि संरचना हटाउनुअघि त्यहाँ आश्रित नागरिकहरूको उचित विकल्प र वैज्ञानिक व्यवस्थापन सुनिश्चित गर्न बलियो माग गरेको छ। ‘सुरक्षाकर्मीलाई मानवताको तालिम प्रदान गर’ भन्दै संरचना हटाउने क्रममा अपाङ्गता भएका व्यक्ति र सर्वसाधारणमाथि संघीय र स्थानीय तहका प्रहरीले गरेको क्रूर र अमानवीय व्यवहारप्रति कडा आपत्ति जनाइएको छ। विज्ञप्तिमा भनिएको छ, ‘त्यस्ता क्रियाकलापमा संलग्न सबैलाई कानुनअनुसार कडा कारबाही गर्न र सबै सुरक्षा संयन्त्रलाई न्यूनतम मानवताका बारेमा प्रभावकारी तालिम दिन हामी अपिल गर्दछौं।’






