
हे कम्युनिस्टहरू, अब तिमीहरू सुध्र! पैतालाको धुलो पुछ्दै भुइँमान्छेका दैलोमा पुग, अन्यायका पहाड र शोषणका लप्का अझै बाँकी नै छन्, समानता, न्याय र समृद्धिका लागि जुट। तिमीहरू थियौ– रातोतातो अग्निसमान जसको हुंकारले ल्यायो नयाँ बिहान, जसको त्याग र बलिदानीबाटै निर्माण भयो संविधानका धाराहरू– गणतन्त्र, स्वतन्त्रता र जनाधिकार। तर हेर, कहाँ पुरियो तिम्रो गौरव? एउटा बाली कसैले ल्यायो, अर्कैले फसल काट्यो!
हे युवा समाजवादीहरू, इतिहासको रगत र बलिदानको किस्ता नभुल। ‘अल्गोरिदम’, ‘एआई’ र ‘भूमण्डलीकरण’को भुमरीमा तिमीहरू पछि पर्यौ होला, तर विचार मरेको छैन। समयको पदचाप पछ्याउँदै जाग, सम्हाल नेतृत्वको बागडोर। हे सच्चा क्रान्तिकारीहरू, अब नथाक। ‘पपुलिज्म’को सस्तो बजारमा सिद्धान्त नबेच। बुर्जुवाको चमकधमकले छोपिन नदेऊ चेतना। विज्ञानको गतिमा समाजशास्त्रको नयाँ भाष्य लेख, रुग्णताका साङ्ला तोड, र गतिशीलताको ‘लिड’ गर।
हे प्रगतिशील चेतनाहरू, तिमीहरू पराजित भएका होइनौ तर भ्रमित भएका हौ। अब मार्क्सवादको ‘क्लासिकल’ रटानबाट माथि उठ। पुनर्व्याख्या गर्दै पुँजी र प्रविधिको संगमलाई समेट। अर्थतन्त्रको नयाँ धुकधुकी र समाजको बदलिँदो नाडी छाम। यथास्थितिको पोखरी भत्काएर समयको नदीमा पौड। हे क्रान्तिका मसालहरू, अब निभ्ने छुट छैन। इगो, तुष्टि, आडम्बर, मैमत्ता र कुण्ठा मिलाएर एकता, संघर्ष र रुपान्तरणको नयाँ ज्योति बाल। शिरमा सगरमाथा र मुटुमा सार्वभौमसत्ता बोकेर स्वाधीन देशको नवनिर्माणका खातिर आधुनिक वैरीहरू विरुद्ध जाग, उठ, हिँड!
जब तिमी आफैँ टुट्छौ, टुक्रिन्छ तिम्रो गौरव अनि डगमगाउँछ जनमत, ढल्छ अहंकारको महल। हे छरिएका राता थोपाहरू, अब एकाकार होऊ। वर्गहरू फेरिएका छन्, तिमी संघर्षको स्वरुप फेर। ‘रगतको नदी’ होइन, ‘विकास र सृजना’को मूल बन। हे वामपन्थीहरू, अब सुध्र र संकल्प गर! निभ्न लागेको क्रान्तिको दियोमा विश्वासको तेल भर्नू। तिमी अहिले उभिएका छौ इतिहासको कठघरामा। साम्राज्यवादी फासिष्टहरू प्रभुत्व जमाउँदैछन्। अग्निपरीक्षा देऊ र जनतासँग माफी माग। समाजवादको बिहानी ल्याउन एकजुट भई अघि बढ।






