पिउने पानीबाट माइक्रोप्लास्टिक हटाउन मोरिङ्गा प्रभावकारी भएको अनुसन्धान

ब्राजिलको साओ पाउलो स्टेट युनिभर्सिटीका वैज्ञानिकहरूले मोरिङ्गा ओलिफेराका बीउबाट पानीमा रहेका माइक्रोप्लास्टिक हटाउने नयाँ प्रविधि विकास गरेका छन्। मोरिङ्गाको बीउबाट निकालिएको नुनिलो झोलले पानीमा रहेका प्लास्टिकका कणलाई झुप्पा बनाएर सजिलै फिल्टरबाट हटाउन सक्छ र यो विधि अल्युमिनियम सल्फेटभन्दा बढी प्रभावकारी छ। वैज्ञानिकहरूको भनाइमा यो विधि दिगो, सस्तो र स्वास्थ्यका लागि सुरक्षित छ। ७ वैशाख, काठमाडौं।
वैज्ञानिकहरूले सामान्य बिरुवाको प्रयोगबाट पिउने पानीमा हुने हानिकारक माइक्रोप्लास्टिक हटाउने नयाँ तथ्य पत्ता लगाएका छन्। साओ पाउलो स्टेट युनिभर्सिटीका शोधकर्ताहरूको अनुसार मोरिङ्गा ओलिफेराको बीउले पानी शुद्धीकरणमा प्रयोग गरिने आधुनिक रसायनहरूको जस्तो प्रभावकारी काम गर्छ। ‘एसीएस ओमेगा’ जर्नलमा प्रकाशित अध्ययनले मोरिङ्गाको बीउबाट तयार गरिएको नुनिलो झोलले पानीमा रहेका प्लास्टिकका कणहरूलाई एकआपसमा टाँसिएर झुप्पा बनाउँछ र त्यसपछि फिल्टरबाट सजिलै हटाउन सकिन्छ।
अनुसन्धानकर्ता ग्याब्रिएल बाटिस्ताको भनाइ अनुसार मोरिङ्गाको यो प्राकृतिक विधिले कतिपय अवस्थामा अहिले प्रयोग भइरहेको ‘अल्युमिनियम सल्फेट’भन्दा पनि राम्रो परिणाम दिएको छ। विशेष गरी क्षारीय पानीमा यसको प्रभाव प्रभावकारी देखिएको छ। पानीमा रहेका माइक्रोप्लास्टिक र अन्य फोहोरका कणहरूमा नकारात्मक विद्युत् चार्ज हुन्छ, जसले ती कणहरूलाई एकअर्काबाट टाढा राख्छ र फिल्टर गर्न कठिन बनाउन सक्छ। मोरिङ्गा बीउमा रहेका प्राकृतिक तत्वहरूले यी चार्जहरूलाई तटस्थ बनाउने काम गर्छन्। यसले साना कणहरूलाई मिलाएर ठूला झुप्पाहरू बनाउँछ, जसलाई फिल्टरबाट सजिलै छान्न सकिन्छ।
परीक्षणका क्रममा वैज्ञानिकहरूले मानिसको स्वास्थ्यका लागि धेरै हानिकारक मानिने ‘पीभीसी’ माइक्रोप्लास्टिकलाई पानीबाट सफलतापूर्वक हटाउन सफल भएका छन्। हाल पानी शुद्धीकरणका लागि प्रयोग हुने अल्युमिनियम वा फलाममा आधारित रसायनहरू ‘बायोडिग्रेडेबल’ नभएको र स्वास्थ्यका लागि जोखिमपूर्ण हुने चिन्ता बढ्दो छ। यस्तो अवस्थामा मोरिङ्गा एउटा सुरक्षित र दिगो विकल्पको रूपमा देखा परेको छ। अनुसन्धानको नेतृत्व गर्ने प्रोफेसर एड्रियानो गोन्साल्भ्स डोस रेसले यो विधि विशेष गरी ग्रामीण क्षेत्र र साना समुदायका लागि निकै कम खर्चिलो र प्रभावकारी हुने बताएका छन्। हाल वैज्ञानिकहरूले नदीको प्राकृतिक पानीमा यसको परीक्षण गरिरहेका छन् र अहिलेसम्म प्राप्त नतिजा उत्साहजनक देखिएको छ।






