
अमेरिकी राष्ट्रपतिले डोनाल्ड ट्रम्पले तेहरानसँग कुनै सम्झौता नभएसम्म इरानको बन्दरगाहमा जारी नाकाबन्दी हटाइने छैन भन्नुभएको छ। अमेरिका र इरानबीचको द्वन्द्व अन्त्यका लागि दोस्रो चरणको वार्ता अझै अनिश्चित अवस्थामा रहेको बेला यस्तो अभिव्यक्ति आएको हो। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक साताअघि सुरु गरिएको नाकाबन्दीले “इरानलाई पूर्णरुपमा ध्वस्त पारेको” उल्लेख गर्नुभएको छ। उहाँको दाबी छ, यो युद्ध अमेरिकी पक्षले “धेरैले” जितेको हो।
अमेरिका र इरानबीचको युद्धविराम बुधबार सकिनुअघि ट्रम्पले यस्तो प्रतिक्रिया सार्वजनिक गर्नुभएको हो। पाकिस्तानमा हुने भनिएको दोस्रो चरणको शान्ति वार्ता अझै अनिश्चित छ। सम्भावित वार्ता तयारीका लागि पाकिस्तानको राजधानी इस्लामाबादमा सुरक्षा कडा गरिएको छ, तर अमेरिकी उपराष्ट्रपति जेडी भान्स अझै वाशिङ्टनबाट प्रस्थान गर्नुभएको छैन। अर्कोतर्फ, इरानले पनि वार्तामा सहभागी हुने वा नहुनेबारे अहिलेसम्म कुनै निर्णय गरेको छैन।
इरानमाथि अमेरिकी समुद्री नाकाबन्दी सुरु भएयता अमेरिकी सेनाले २७ वटा जहाजलाई फर्कन वा इरानी बन्दरगाह बाहिर जान नदिन निर्देशन दिएको छ, अमेरिकी सेनाको केन्द्रीय कमान्ड ‘सेन्टकम’ले जनाएको छ। होर्मुज जलमार्गमा दोहोरो नाकाबन्दी प्रयासपछि अमेरिकी सेनाले आइतबार पहिलो पटक इरानी झन्डावाहक एउटा जहाज नियन्त्रणमा लिएको थियो। सेन्टकमले सार्वजनिक गरेको भिडिओमा जहाजलाई सुरुमा चेतावनी दिइएको र त्यसपछि सैनिकहरूले नियन्त्रणमा लिएको देखाइएको छ।
इरानले यसलाई “डकैती” र दुई देशबीचको युद्धविराम उल्लङ्घन भएको दाबी गरेको छ। विश्वकै महत्त्वपूर्ण जलमार्गमध्ये एक होर्मुज स्ट्रेटमा इरानले लगभग दुई महिनादेखि आ-आफ्नो नाकाबन्दी कायम राखेको छ, जसले विश्वभर उर्जाको मूल्यमा तीव्र वृद्धि गरेको छ। ट्रम्पले ति जहाजहरूमा इरानले “गोली चलाउने निर्णय गरेको” र यसलाई युद्धविरामको “पूर्ण उल्लंघन” भनेका छन्।






