Skip to main content

पालान्टिरको मेनिफेस्टो: सिलिकन भ्यालीलाई चुनौती

पालान्टिर टेक्नोलोजिजले १८ अप्रिल २०२६ मा ‘संक्षेपमा टेक्नोलोजीकल रिपब्लिक’ शीर्षकको २२ बुँदे मेनिफेस्टो सार्वजनिक गर्‍यो। यस मेनिफेस्टोले प्रविधिलाई राष्ट्रिय सुरक्षा र ‘हार्ड पावर’ को रूपमा प्रयोग गर्न सिलिकन भ्यालीलाई नैतिक ऋण तिर्न आह्वान गरेको छ। पालान्टिरको मेनिफेस्टोले प्रविधि र राष्ट्रिय सुरक्षाको सम्बन्धलाई नयाँ ढङ्गले परिभाषित गर्दै लोकतान्त्रिक विश्वलाई एआई-आधारित प्रतिरक्षा प्रणाली अपनाउन सुझाव दिएको छ। ८ वैशाख, काठमाडौं। १८ अप्रिल २०२६ को साँझ पालान्टिर टेक्नोलोजिजको आधिकारिक एक्स अकाउन्टबाट एउटा यस्तो पोस्ट सार्वजनिक भयो, जसले प्रविधि, राजनीति र विश्व सुरक्षाको क्षेत्रमा ठूलो हलचल पैदा गरिदियो। ‘संक्षेपमा टेक्नोलोजीकल रिपब्लिक’ शीर्षक दिइएको २२ बुँदे यो संक्षिप्त मेनिफेस्टोले पालान्टिरका सीईओ एलेक्जेन्डर सी. कार्प र कर्पोरेट अफेयर्स प्रमुख निकोलस डब्लु. जामिस्काको चर्चित पुस्तक ‘द टेक्नोलोजिकल रिपब्लिक’ को सारलाई प्रस्तुत गरेको थियो।

सन् २०२५ मा प्रकाशित भई न्युयोर्क टाइम्सको बेस्टसेलर सूचीमा पहिलो स्थान जमाउन सफल उक्त पुस्तकको यो २२ बुँदे सारांशले अन्ततः एक औपचारिक ‘कर्पोरेट घोषणापत्र’ को रूप लियो। यसले सिलिकन भ्यालीको परम्परागत उपभोक्ता-केन्द्रित संस्कृति र त्यहाँ व्याप्त खोक्रो बहुलवाद एवं पश्चगामी समावेशिताको कडा आलोचना गर्दै प्रविधिलाई राष्ट्रिय सुरक्षा र ‘हार्ड पावर’ को अचुक हतियार बनाउन आह्वान गरेको छ। यो मेनिफेस्टोले सिलिकन भ्यालीलाई आफ्नो नैतिक ऋण तिर्न र राष्ट्रको रक्षाका लागि उभिन चुनौती दिएको छ। सार्वजनिक भएको छोटो समयमै २ करोडभन्दा बढी पटक हेरिएको यो पोस्टले विश्वभर हजारौँ प्रतिक्रिया र विवादहरू उत्पन्न गरायो।

बौद्धिक जगत्‌को एउटा तप्काले यसलाई पश्चिमी सभ्यताको वास्तविक जागरणका रूपमा व्याख्या गरिरहेको छ भने अर्को तप्काले यसलाई एआईद्वारा सञ्चालित ‘निगरानी राज्य’ (सर्विलियन्स स्टेट) को घोषणाका रूपमा लिएको छ। कम्पनीको नाम नै प्रसिद्ध कृति ‘लर्ड अफ द रिङ्स’ को सर्वदर्शी ढुङ्गा ‘पालान्टिर’ बाट राखिएको हो, जसले भविष्य देख्ने सामर्थ्य राख्छ।