Skip to main content

कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम आज विराटनगरमा, सभापति गगन थापा सहभागी हुँदै

९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले आज कोशी प्रदेशको विराटनगरमा आफ्नो निर्वाचन समीक्षा कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा सभापति गगन कुमार थापासहित नेताहरू सहभागी हुनेछन्। पूर्वनिर्धारित कार्यक्रमअनुसार सभापति थापा बिहान ९:५० बजे विराटनगर विमानस्थलमा अवतरण गर्ने र १०:३० बजेबाट समीक्षा कार्यक्रम सुरु गर्ने तयारी गरिएको पार्टीकी सहमहामन्त्री डा. डिला संग्रौलाले जानकारी दिइन्।

उनका अनुसार, पार्टीको प्रदेशस्तरीय संगठन सुदृढीकरण, निर्वाचन परिणामको समीक्षा र आगामी रणनीति निर्धारण गर्ने उद्देश्यले समीक्षा कार्यक्रम आयोजना गरिएको हो। कांग्रेसको कोशी प्रदेश नेतृत्व व्यवस्थापन र संगठन सुदृढीकरणका विषयमा पनि बैठकमा प्राथमिकताका साथ छलफल गरिने सहमहामन्त्री संग्रौलाले बताइन्।

कार्यक्रममा पार्टीका कोशी प्रदेशका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश कार्यसमिति, संघीय तथा प्रदेश सांसद, जिल्ला सभापति, क्षेत्रीय सभापति र अघिल्लो निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारहरू सहभागी हुनेछन्। कांग्रेसले पछिल्लो समयमा विभिन्न प्रदेशहरूमा निर्वाचन समीक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसअघिका समीक्षा बैठकहरू गण्डकी, लुम्बिनी, बागमती र मधेश प्रदेशमा सम्पन्न भइसकेका छन्।

पार्टी नेतृत्वले समीक्षा कार्यक्रममार्फत स्थानीय तहदेखि प्रदेश तहसम्म संगठनको अवस्था, चुनावी परिणाम, कमजोरी र सुधारका सम्भावनाहरू सम्वन्धमा प्रत्यक्ष सुझाव सङ्कलन गर्ने जनाएको छ। साथै आगामी राजनीतिक रणनीति, संगठन विस्तार, क्रियाशील सदस्यता, १५औँ महाधिवेशनको तयारी र कार्यकर्ताको सक्रियता बढाउने विषयमा छलफल हुने बताइएको छ। कांग्रेसले प्रदेशस्तरका समीक्षा कार्यक्रमहरूलाई मात्र चुनावी हार–जीतको विश्लेषणमा सीमित नराखी संगठन पुनर्जागरण अभियानका रूपमा अघि बढाएको जनाएको छ।