
९ वैशाख, काठमाडौं। हालका लागि गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाहले नै सम्हाल्ने भएका छन्। आज सुधन गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्रीको सचिवालयले उक्त जिम्मेवारी प्रधानमन्त्रीले आफू मातहतमा राखेको जानकारी दिएको छ। विवादित व्यापारी दीपक भट्टसँग साझेदारी रहेको तथ्य बाहिरिएपछि उनी पनि विवादमा परेका थिए। त्यसपछि उनले आफू विरुद्ध निष्पक्ष छानबिन हुनुपर्ने माग राख्दै पदबाट राजीनामा दिएका हुन्। यस सरकार गठन भएको २६ दिनमै गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका हुन्। सम्पत्तिमाथि उठेका प्रश्नहरूका कारण उनले प्रधानमन्त्रीसँग भेट गरी राजीनामा बुझाएका थिए। केही दिनअघि उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिसकेका थिए। त्यो विवरण अस्वाभाविक भएको भन्दै प्रश्न उठिरहेको अवस्थामा उनले माइक्रो इन्स्योरेन्स लगायत अन्य क्षेत्रमा गरेको लगानीको विवरण पनि सार्वजनिक भयो। उनले सञ्चालन गरेको सामाजिक संस्था ‘हामी नेपाल’ मा आएको सहयोग रकम व्यक्तिगत खाताबाट कारोबार गरिएको विषय बाहिरिएपछि गुरुङलाई पदबाट हटाउन विभिन्न पक्षबाट दबाब परेको थियो। उक्त दबाबमा रहेकै बेला बुधबार उनले पदबाट राजीनामा दिएका हुन्।






