Skip to main content

जलवायु परिवर्तन बुझ्नको लागि नयाँ प्रविधि ‘गोफ्लो’

वैज्ञानिकहरूले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी समुन्द्री सतहको बहावलाई अहिलेसम्मकै विस्तृत रूपमा पछ्याउने ‘गोफ्लो’ प्रविधि विकास गरेका छन्। ‘गोफ्लो’ प्रविधिले मौसमी उपग्रहका तस्बिरलाई उच्च गुणस्तरको समुन्द्री बहाव नक्सामा परिणत गर्ने र प्रत्येक घण्टामा ताजा नक्सा उपलब्ध गराउनेछ। यसले मौसम पूर्वानुमान, तेल चुहावट ट्रयाकिङ र समुद्री फोहोर व्यवस्थापनमा सहयोग पुर्‍याउने विश्वास गरिएको छ। ९ वैशाख, काठमाडौं।

‘गोफ्लो’ नाम दिइएको यस प्रविधिले अन्तरिक्षमा रहेका मौसमी उपग्रहका तस्बिरहरूलाई उच्च गुणस्तरको समुन्द्री बहाव नक्सामा परिवर्तन गर्नेछ। ‘नेचर जियोसाइन्स’ जर्नलमा प्रकाशित यस खोजले पृथ्वीको जलवायु र समुद्री पारिस्थितिक प्रणालीलाई बुझ्न नयाँ बाटो खोल्दैछ। स्क्रिप्स इन्स्टिच्युसन अफ ओसनोग्राफीका वैज्ञानिक लुक लेटेन र उनको टोलीले विकास गरेको यो प्रविधिले ‘डीप लर्निंग’ प्रयोग गरी उपग्रहले खिचेका तापीय तस्बिरहरूमा तापक्रमको ढाँचा परिवर्तन कसरी भइरहेको छ भनेर विश्लेषण गरी पानीको बहावको गति र दिशाको पहिचान गर्दछ।

समुन्द्री लहरहरूले विश्वभर तापक्रम सन्तुलन मिलाउने, वायुमण्डलबाट कार्बन डाइअक्साइडलाई गहिरो समुन्द्रसम्म पु¥याउने र समुद्री जीवहरूको लागि पोषक तत्व प्रवाह गर्ने काम गर्छन्। अघिका उपग्रहहरूले १० दिनमा मात्रै एक पटक एउटै स्थानको अवलोकन गर्दा केही घण्टामै बन्ने र हराउने लहरहरू रेकर्ड गर्न सकिँदैनथ्यो। तर ‘गोफ्लो’ हरेक घण्टाको ताजा नक्सा उपलब्ध गराउँछ, जसले समुन्द्रमा हुने ‘भर्टिकल मिक्सिङ’ जस्ता जटिल प्रक्रियाहरू बुझ्न सजिलो बनाउँछ।

सन् २०२३ देखि उत्तर एटलान्टिक क्षेत्रमा गरिएको परीक्षणले यो प्रविधि जहाजबाट गरिने मापन जत्तिकै सटीक भएको प्रमाणित गरेको छ। वैज्ञानिकहरूले यसलाई विशेष गरी ‘गल्फ स्ट्रिम’ जस्ता जटिल बहावहरू अध्ययन गर्न प्रयोग गरेका छन्। बादलले आकाश ढाक्दा तस्बिर लिने समस्या भए पनि वैज्ञानिकहरूले अन्य उपग्रहका तथ्याङ्क मिसाएर यसलाई विश्वव्यापी बनाउने योजना बनाएका छन्। यो प्रविधिले समुन्द्रले कसरी ताप र कार्बन सोस्छ भन्ने दशकौँ पुराना सिद्धान्तहरूलाई वास्तविक तथ्याङ्कका आधारमा परीक्षण गर्ने ढोका खोलिदिएको छ।