Skip to main content

गगन थापाले असन्तुष्ट नेतालाई भने- हामीले अवश्य मिल्नैपर्छ, नत्र कतै जान हुन्न

९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र एकता मजबुत बनाउन पुराना विवादहरूलाई भुलेर अगाडि बढ्न आह्वान गर्नुभएको छ। बुधबार विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा सभापति थापाले पार्टीलाई एकताबद्ध गरेर अघि बढ्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ। ‘अरु नेताहरूले पनि मलाई सबैले साथ दिनुपर्नेछ। सबै मिलेर अघि बढ्नुपर्छ। हामीबीच मिल्ने कुरा त अवश्यै मिल्नैपर्छ,’ उहाँले भन्नुभयो, ‘नमिलेर जाने कहाँ जाने हो अब? हामी मात्र मिलेर पनि पुग्दैनौं।’

सबैले मिलेर सबैभन्दा पहिला कांग्रेसबाट रिसाएर यसपटक बाहिरिएका १० लाख मतदातालाई फर्काउनुपर्ने उहाँले जोड दिनुभयो। ‘ती १० लाख मतदातालाई भेट्नुपर्छ, उनलाई भनिनुपर्छ, नेपाली कांग्रेससँग तपाईंले गरेका अपेक्षाहरू हामी पूरा गर्नेछौं भन्दै विश्वास दिलाउनुपर्नेछ,’ उहाँले बताउनुभयो। त्यसपछि युवालाई कांग्रेसमा आकर्षित गर्न विशेष पहल आवश्यक रहेको उहाँले बताए। त्यसका लागि ३० वर्षमुनिका युवालाई कांग्रेससँग जोड्ने अभियान सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो।