
चेन्नई सुपर किङ्सले आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सलाई १०३ रनले पराजित गरेको छ। चेन्नईका सन्जु सामसनले अविजित १०१ रन बनाएर शतकीय पारी खेलेका छन् भने अकिल होसेनले ४ विकेट लिएर मुम्बईको इनिङलाई धराशायी बनाएका छन्। १० वैशाख, काठमाडौं।
सन्जु सामसनको उत्कृष्ट ब्याटिङ र अकिल होसेनको प्रभावशाली बलिङको सहायतामा चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्समाथि ठूलो अन्तरले जित हासिल गरेको छ। बिहीबार वाङ्खेडे स्टेडियममा भएको खेलमा चेन्नईले मुम्बईलाई १०३ रनले पराजित गरेको हो। चेन्नईले दिएको २०८ रनको लक्ष्य पछ्याएको मुम्बई १९ ओभरमा मात्र १०४ रनमा अलआउट भयो।
मुम्बईका तिलक वर्माले सर्वाधिक ३७ रन बनाए भने सूर्यकुमार यादवले ३६ रनको योगदान दिए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। मुम्बईको इनिङलाई कमजोर बनाउन चेन्नईका अकिल होसेनले ४ ओभरमा मात्र १७ रन खर्चेर ४ विकेट लिएका थिए। नूर अहमदले २ विकेट लिए भने मुकेश चौधरी, अंशुल कम्बोज, जेमी ओभरटन र गुर्जपनित सिंहले १-१ विकेट लिए।
पहिले टस हारेर ब्याटिङ गरेको चेन्नईले ६ विकेट गुमाएर २०७ रन बनाएको थियो। ओपनर सन्जु सामसनले ५४ बलमा १० चौका र ६ छक्का प्रहार गर्दै १०१ रनको अविजित शतकीय पारी खेलेका थिए। उनले अन्तिम बलमा चौका प्रहार गर्दै शतक पूरा गरेका थिए। यो सिजन सामसनको दोस्रो शतकीय पारी हो। उनले यसअघि दिल्ली क्यापिटल्सविरुद्ध पनि शतक लगाएका थिए। कप्तान रुतुराज गायक्वाडले २२, डेवाल्ड ब्रेभिसले २१, कार्तिक शर्माले १८, र जेमी ओभरटनले १५ रन बनाए। मुम्बईका अलाह गजनफर र अश्वनी कुमारले २-२ विकेट लिए भने जसप्रित बुमराह र मिचेल सान्टनरले १-१ विकेट लिएका थिए। यस जितसँगै ७ खेलमा तेस्रो जित हात पारेको चेन्नई ६ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ भने मुम्बई आठौं खेलमा पराजित भएको छ।





