डीआईजी आचार्यको नेतृत्वमा सिन्धुली प्रहरी हिरासतमा मृत्यु प्रकरण छानबिन समिति गठन

११ वैशाख, काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले सिन्धुलीमा प्रहरी हिरासतमा एक जना दलित युवाको मृत्यु भएको घटनाको छानबिन गर्न समिति गठन गरेको छ। नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेका छन्। समितिका सदस्यमा प्रहरी प्रधान कार्यालय युएन शाखाका प्रहरी उपरीक्षक (एसपी) रविन्द्रनाथ पौडेल, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का इन्सपेक्टर ईन्द्रजित सुनार, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर प्रेम रेग्मी र प्रहरी नायब निरीक्षक (सई) राजेश्वर सापकोटा समावेश छन्। आईजीपी कार्कीले समितिलाई ७ दिनभित्र छानबिन गरी प्रतिवेदन पेस गर्न निर्देशन पनि दिएका छन्।
प्रहरीका अनुसार सिन्धुलीको सुनकोशी गाउँपालिका–३ जुम्लीडाँडाका दलबहादुर बिकका २३ वर्षीय छोरा श्रीकृष्ण बिक जवरजस्ती करणी मुद्दाको अनुसन्धानको सिलसिलामा इलाका प्रहरी कार्यालय खुर्कोटको न्यायिक हिरासतमा थिए। घटनाक्रम अनुसार, वैशाख ७ गते हिरासत कक्षको शौचालयमा आफ्नै सर्टले पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेका थिए भन्ने प्रहरीको दाबी छ। त्यसपछि उपचारका क्रममा उनको मृत्यु भएको घटना प्रहरीले जनाएको छ। यद्यपि, उनको मृत्युको विषयमा आफन्त र अधिकारकर्मीहरूले शंका व्यक्त गरिरहेका छन्। केही जनप्रतिनिधिदेखि सांसदसम्मले प्रहरीको भूमिकामा प्रश्न उठाउँदै प्रदर्शन र दबाब कार्यक्रम गर्दै आएका छन्। दबाब बढ्दै गएपछि प्रहरीले छानबिन समिति गठन गरेको हो।






