Skip to main content

सैन्य आधार तालिम पूरा गरी ९७ जना सैनिक जवान दीक्षित भएका छन्

११ वैशाख, गण्डकी । नेपाली सेनाको पश्चिम पृतना मुख्य कार्यालयअन्तर्गत बागलुङको घोडाबाँधमा रहेको कालीजङ्ग गणमा सञ्चालन गरिएको सिसं ९ सैन्य आधार तालिमबाट ९७ जना सैनिक जवान दीक्षित भएका छन्। आज सैन्य आधारभूत तालिमको समापन अवसरमा अन्तिम दलेल कवाज प्रदर्शन गरिएको छ, कालीजङ्ग गणका गणपति प्रमुख सेनानी शिवबहादुर अधिकारीले जानकारी दिए।

दलेल कवाजको निरीक्षण गर्न पश्चिम पृतना मुख्यालयका उपरथी भोलानाथ थापासहित उच्च सैनिक अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू र अन्य विशिष्ट अतिथिहरू उपस्थित थिए। सो अवसरमा उपरथी थापाले नौ महिनाको सैन्य आधार तालिममा उत्कृष्ट प्रदर्शन गर्ने सैनिक जवानहरूलाई पुरस्कार वितरण पनि गरेका थिए। कार्यक्रममा सम्बोधन गर्दै उपरथी थापाले राष्ट्र, जनता र सेनाप्रति बफादार रहँदै सैनिक सेवामा समर्पित रहन सबैलाई निर्देशन दिए।

उपरथी थापाले सैनिक मर्यादा र अनुशासनको पालना गर्दै उच्च व्यावसायिक धर्म निर्वाह गर्नुपर्नेमा जोड दिए। उनले शिक्षा र तालिमलाई समयसापेक्ष सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे। ‘राष्ट्रको मेरुदण्ड सेना भएकाले सेना बलियो भएमात्र देश मजबुत हुन्छ’ उनले भने, ‘दक्ष, तालिमप्राप्त, अनुशासित र कर्तव्यनिष्ठ सैनिक सेनाको मेरुदण्ड हो।’

सैन्य आधार तालिममा सर्वोत्कृष्ट प्रदर्शन गर्ने सैनिक जवान सुदेश मगरलाई श्रेष्ठताको प्रतीक स्वरूप खुकुरीले पुरस्कृत गरिएको थियो। फायरिङ विधामा उत्कृष्ट राजन विष्ट, ड्रिल विधामा उत्कृष्ट सुनिल लिम्बू, १२ किलोमिटर दौडमा उत्कृष्ट पवन लंवा, पाँच किलोमिटर दौडमा उत्कृष्ट दिपेन रसाइली, बाधापार विधामा उत्कृष्ट सरोज राईलाई उपरथी थापाले पुरस्कार प्रदान गरे। तालिम समापन समारोहमा २३ बाहिनी अड्डा बागलुङका सहायक रथी विजय केसी, जिल्लास्थित जनप्रतिनिधिहरू, सुरक्षा निकायका प्रमुखहरू र दीक्षित सैनिक जवानका परिवारजनहरूको उपस्थिती रहेको थियो।