Skip to main content

‘सुकुमबासी पहिचान भोलिदेखि, दुई साताभित्रै नागार्जुनको अपार्टमेन्टमा राखिने’

१२ वैशाख, काठमाडौं । सरकारले शनिबारदेखि काठमाडौं उपत्यकाका सुकुमबासी बस्ती खाली गराउन सुरु गरेको छ । पहिलो दिनको बस्ती खाली गराउने काम शान्तिपूर्ण भएको प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का राजनीतिक सल्लाहकार असिम शाहले जानकारी दिएका छन् । ‘काठमाडौं उपत्यका विकास प्राधिकरणको तथ्यांकअनुसार शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी कुल ८७१ अनधिकृत घरधुरी रहेका छन्,’ सल्लाहकार शाहले फेसबुकमार्फत लेखेका छन्, ‘उक्त क्षेत्रमा बसोबास गरिरहेका व्यक्तिहरूले सरकारको यस कदममा सहयोग गरेपछि थापाथलीमा शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा बस्ती खाली गरिएको छ ।’
हालसम्म थापाथलीमा बसोबास गरिरहेका ६८ परिवार सरकारले सम्पर्कमा आएका छन् भने अन्य स्थानबाट पनि सम्पर्कको क्रम जारी रहेको उनले बताएका छन् । ‘सम्पर्कमा आएका परिवारहरूलाई दशरथ रंगशाला पुर्‍याएर उनीहरूको विवरण संकलन गरी काठमाडौंका विभिन्न होटलहरूमा राख्ने तयारी छ,’ उनले भनेका छन् । होटलमा राखिएका परिवारहरू वास्तविक सुकुमबासी हुन् कि होइनन् भनेर पहिचान गर्ने कार्य भोलिदेखि नै सुरु गरिने बताए । ‘वास्तविक सुकुमबासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका–१ स्थित सरकारी अपार्टमेन्टमा सारिनेछ,’ उनले थपे, ‘त्यसपछि उनीहरूको दीर्घकालीन व्यवस्थापनको काम सुरु गरिनेछ ।’