Skip to main content

राजु लामाले हार्वर्ड विश्वविद्यालयमा कला र संस्कृतिबारे अनुभव बाँडे

लोकप्रिय पप गायक राजु लामाले हार्वर्ड विश्वविद्यालयमा आयोजित ‘नेपाल डिस्कोर्स’ कार्यक्रममा कला, संस्कृती र मानव प्रगतिबारे आफ्नो अनुभवहरू साझा गर्नुभएको छ। लामाले हार्वर्डजस्तो प्रतिष्ठित विश्वविद्यायलमा बोल्न पाउनु आफ्नो लागि ठूलो सम्मान भएको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ।

लामाले न्यूयोर्कमा हुँदै गरेको सांगीतिक कार्यक्रममा टिकट बिक्रीबाट हुने आम्दानीको २० प्रतिशत भाग वृक्षरोपण तथा हिमाली क्षेत्रका बालबालिकाको शिक्षामा खर्च गरिने बताउनुभएको छ। वर्तमानमा अमेरिका भ्रमणमा रहेका लोकप्रिय पप गायक राजु लामा सांगीतिक कार्यक्रम गर्दै हुनुहुन्छ। यसैबिच उनले हार्वर्ड विश्वविद्यालयमा आयोजना गरिएको ‘नेपाल डिस्कोर्स’ कार्यक्रममा सहभागिता जनाउनुभएको थियो।

हार्वर्ड विश्वविद्यालय र त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरू तथा एमआईटीका विद्यार्थीहरूको संयुक्त आयोजनामा भएको कार्यक्रममा लामाले कला, संस्कृतिमा भइरहेको परिवर्तन र मानव प्रगतिबारे आफ्ना अनुभवहरू सार्वजनिक गर्नुभयो। उनले यो अवसर आफ्नो लागि विशेष र स्मरणीय रहेको बताएका छन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा उनले लेखेका छन्, ‘हार्वर्डजस्तो प्रतिष्ठित संस्थामा बोल्न पाउनु मेरो लागि अत्यन्त सम्मानको विषय हो।’

लामाले अमेरिकामै आयोजना हुन जा रहल आफ्नो आगामी सांगीतिक कार्यक्रमसम्बन्धी जानकारी पनि दिएका छन्। उनका अनुसार, टिकट बिक्रीबाट उठ्ने आम्दानीको २० प्रतिशत राजु लामा फाउन्डेसनमार्फत वृक्षरोपण र हिमाली भेगका बालबालिकाको शिक्षा क्षेत्रमा खर्च गरिनेछ। लामाले दर्शक तथा श्रोताहरुलाई कार्यक्रममा सहभागी भई संगीत र सामाजिक अभियानमा साथ दिन आग्रह पनि गर्नुभएको छ।