Skip to main content

सङ्गाई युनिभर्सिटीबाट पढेका ९८ नेपालीको डिग्रीमा संकट, खारेज हुने आग्रह

त्रिभुवन विश्वविद्यालयले भारतस्थित सङ्गाई इन्टरनेशनल युनिभर्सिटीमा अध्ययन गरेका ९८ विद्यार्थीलाई ३५ दिनभित्र वैधता पुष्टि गर्ने कागजात पेश गर्न अल्टिमेटम दिएको छ। भारतको विश्वविद्यालय अनुदान आयोगले सन् २०२४ मे १५ मा सङ्गाई विश्वविद्यालयलाई सूचीबाट हटाउँदै सो विश्वविद्यालयबाट जारी उपाधिलाई अवैध घोषणा गरेको छ। त्रिविले छानबिन प्रतिवेदनको आधारमा कारबाही प्रक्रिया सुरु गरेको र प्रमाणित पत्र नपेस गरे डिग्रीको समकक्षता खारेज हुने जनाएको छ।

१४ वैशाख, काठमाडौं। त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रले भारतको मणिपुर राज्यस्थित सङ्गाई इन्टरनेशनल युनिभर्सिटीमा अध्ययन गरेका ९८ जनालाई वैधता पुष्टि गर्ने प्रमाणपत्र ३५ दिनभित्र बुझाउन निर्देशन दिएको छ। तोकिएको समयभित्र वैधता प्रमाणित गर्न नसके डिग्रीको समकक्षता खारेज गरिने केन्द्रले जनाएको छ। यी ९८ जनाले त्रिविबाट डिग्री समकक्षता हासिल गरिसकेका छन्। जारी गरिएको सूचनामा अधिकांश विद्यार्थी स्नातक तथा स्नातकोत्तर तहका छन्।

छानबिन प्रक्रियाको क्रममा उनीहरूको डिग्री नै संकटमा परेको छ। पाठ्यक्रम विकास केन्द्रले ९८ जनाको नाम, ठेगाना र अध्ययन विषयसमेत सार्वजनिक गरेको छ। भारतको विश्वविद्यालय अनुदान आयोगले सन् २०२४ मे १५ मा सङ्गाई विश्वविद्यालयलाई सूचीबाट हटाउने निर्णय गर्दै उक्त विश्वविद्यालयबाट जारी शैक्षिक उपाधिहरूलाई सरकारी रोजगारी र उच्च शिक्षाका लागि अवैध घोषणा गरेको छ। त्यसैले त्रिविले समकक्षता पत्र पाएका विद्यार्थीहरूको डिग्री छानबिन गर्ने प्रक्रिया अगाडि बढाएको छ।

‘समकक्षता पत्रहरू छानबिनमा रहेको भएर सूचना प्रकाशित भएको मितिदेखि ३५ दिनभित्र विद्यार्थीहरूले प्राप्त गरेको समकक्षता पत्रको सक्कल प्रति तथा शैक्षिक उपाधिको वैधता पुष्टि गर्ने आधारसहित लिखित रुपमा कागजात पेश गर्न आग्रह गरेका छौं,’ केन्द्रका कार्यकारी निर्देशक प्राडा राकृष्ण तिवारीले बताए। तोकिएको अवधिमा प्रमाणसहित कागजात नपेश गर्ने विद्यार्थीहरूको समकक्षता खारेज गरिने त्रिविको तयारी छ।