Skip to main content

वाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यकारी अध्यक्षका लागि ३ जनाको सिफारिस

समाचार संक्षेप शहरी विकास मन्त्रालयका सचिव नेतृत्वमा रहेको सिफारिस समितिले वाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यकारी समितिको अध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिस गरेको छ। सिफारिस समितिले १५ जना सर्टलिस्टबाट शैक्षिक योग्यता, कार्ययोजना, अनुभव र अन्तर्वार्ताको आधारमा तीन जनाको नाम सिफारिस गरेको हो। वाग्मती सभ्यता एकीकृत विकास समितिले वाग्मती नदीलाई सफा राख्ने, नदी किनारका साँस्कृतिक धरोहरहरूको संरक्षण गर्ने र नदी प्रदूषण नियन्त्रण गर्ने काम गर्छ। १५ वैशाख, काठमाडौं। शहरी विकास मन्त्रालयअन्तर्गत अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यकारी समितिको अध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिस भएको छ। कास्कीका डा. विकास अधिकारी पहिलो स्थानमा सिफारिस भएका छन्। बैतडीका डा. आनन्द सिंह भाट र सिरहाका संगीता यादव क्रमशः दोस्रो र तेस्रो स्थानमा सिफारिस भएका छन्। मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल नेतृत्वको सिफारिस समितिका सचिवालय बैठकले यही वैशाख १४ गते अधिकारी, भाट र यादवको नाम सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो। अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यकारी समिति अध्यक्ष पदमा शहरी विकास मन्त्रालयको सिफारिस अनुसार मन्त्रिपरिषद्को बैठकले नियुक्ति निर्णय गर्ने व्यवस्था छ। ओली सरकारको पालामा सुरु भएको प्रक्रिया शहरी विकास मन्त्रालयले २०८२ कात्तिक २७ गते अध्यक्ष पदका लागि दरखास्त आमन्त्रण गरेको थियो। १७ जनाले आवेदन दिएका थिए। तीमध्ये १५ जनालाई सर्टलिस्टमा राखिएको थियो। १५ जना उम्मेदवारको शैक्षिक योग्यता, अनुभव, पेशागत कार्ययोजना मूल्याङ्कन, प्रस्ताव प्रस्तुतीकरण र अन्तर्वार्ताको आधारमा सिफारिस समितिले ३ जनाको नाम सिफारिस गरेको हो। त्यसअघि केपी ओली नेतृत्वको सरकारले प्रकाशमान सिंह शहरी विकास मन्त्री हुँदा कांग्रेसका दीपक कुइँकेललाई समितिको अध्यक्ष बनाउन सिफारिस गरी मन्त्रिपरिषद्मा पठाइसकेको थियो। तर त्यतिबेला जनआन्दोलन हुँदा सरकार ढलेको थियो। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले अघिल्लो सरकारको पालामा भएका सबै सिफारिसहरू सम्बन्धित मन्त्रालयमा फिर्ता पठाएको थियो। पछि अन्तरिम सरकारका शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङको नेतृत्वमा पुनः विज्ञापन जारी गरी नियुक्ति प्रक्रिया अघि बढाइएको थियो। वाग्मती सभ्यता एकीकृत विकास समितिले के गर्छ? काठमाडौं उपत्यकाभित्र वाग्मती र यसका सहायक नदी नालाहरूलाई सफा, स्वच्छ, र हराभर बनाउँदै नदी किनारमा रहेका धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वका धरोहरहरूको संरक्षण गर्नु वाग्मती सभ्यता एकीकृत विकास समितिको मुख्य उद्देश्य हो। वाग्मती नदीको उद्गम स्थल शिवपुरी जलाधारदेखि चोभारसम्मको नदीलाई सफा र स्वच्छ राख्नु समितिको जिम्मेवारी हो। साथै, नदीमा कुनै पनि प्रकारको ठोस वा तरल प्रदूषण मिसाउन नपाउने, र आवश्यक परेमा पानी प्रशोधन गरेर मात्र मिसाउन मिल्ने व्यवस्था मिलाउनु पनि समितिको कार्यक्षेत्रमा पर्दछ। त्यसैगरी फोहोर पानी प्रशोधन केन्द्रहरूको निर्माण, सञ्चालन, देखभाल, नदी कटान नियन्त्रणका लागि तटबन्ध निर्माण, नदी किनारमा आवश्यकतानुसार सडक निर्माण र वृक्षारोपण, साथै काठमाडौं उपत्यकाका अन्य नदीहरूको बहाव क्षेत्र र हरित क्षेत्रको अतिक्रमण नियन्त्रण गर्ने काम पनि समितिको जिम्मामा पर्दछ।