
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सहुलियत मूल्यमा औषधि उपलब्ध गराउन सुलभ फार्मेसी सञ्चालनमा ल्याएको छ। यो फार्मेसीमा सेवाग्राहीहरुले औषधिको अधिकतम खुद्रा मूल्यमा २५.१० प्रतिशत छुट पाउनेछन्। नगरपालिकाले फार्मेसी सञ्चालनका लागि बुट्स मेडिको प्रालिसँग ५ वर्षे सम्झौता गरेको छ भने आगामी वर्ष प्याथोलोजी सेवा सञ्चालन गर्ने तयारी पनि छ। १६ वैशाख, बुटवल।
तिलोत्तमाको वडा नम्बर–५ मणिग्राममा संचालनमा आएको यो फार्मेसीको बुधबार नगरप्रमुख रामकृष्ण खाँणले उद्घाटन गरेका हुन्। यहाँ तिलोत्तमा नगरपालिकामा मात्र नभएर जुनसुकै स्थानका सेवाग्राहीले पनि औषधिको अधिकतम खुद्रा मूल्य (एमआरपी) मा २५.१० प्रतिशत छुट पाउनेछन्। नगरपालिका सञ्चालन गरेको यो औषधि पसल देशभरिका अन्य पालिकाका लागि नमुना उदाहरण बन्ने प्रमुख खाँणले बताए।
नगरप्रमुख खाँणले आगामी वर्षबाट पालिकाले प्याथोलोजी सेवा पनि सुरु गर्ने तयारी रहेको जानकारी दिए। फार्मेसी सञ्चालनका लागि नगरपालिकाले बुट्स मेडिको प्रालिसँग ५ वर्षे सम्झौता गरेको छ। सम्झौताअनुसार फार्मेसीका लागि आवश्यक घरभाडा नगरपालिकाले वार्षिक २ लाख ५० हजार तिर्नेछ भने अन्य सबै छुट र सेवाहरू मेडिकोले उपलब्ध गराउने प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए।
फार्मेसीमा सबै देश र कम्पनीका औषधिहरू उपलब्ध हुनेछन्। नगरपालिकाका कार्यपालिका सदस्य सुरेन्द्र श्रीले दीर्घरोगी र नियमित औषधि सेवन गर्ने बिरामीहरुलाई ध्यानमा राखेर फार्मेसीको अवधारणा अघि सारेको बताए। यसले बजारका फार्मेसीमा महँगो मूल्यमा औषधि किन्नुपर्ने बाध्यता कम गर्ने विश्वास लिइएको छ।






