
नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता त्यागेर विदेशी राहदानी प्राप्त गरेका १९ चिकित्सकहरूको लाइसेन्स दर्ता खारेज गरेको छ। काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवले ती चिकित्सकहरूको नाम काउन्सिलको दर्ता किताबबाट हटाइएको जानकारी दिएका छन्। लाइसेन्स खारेज गरिएका चिकित्सकहरूले ब्रिटिश, क्यानाडियन, अमेरिकन, न्यूजिल्यान्ड, जर्मन, अस्ट्रेलियन र भारतीय नागरिकता लिएर नेपाली नागरिकता छोडेका छन्।
१८ वैशाख, काठमाडौं। नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकहरूको दर्ता प्रमाणपत्र (लाइसेन्स) खारेज गरेको छ। काउन्सिलले नेपाली नागरिकता त्यागेका ती चिकित्सकहरूको लाइसेन्स दर्ता खारेज गरेको काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवले जानकारी दिएका छन्। यसअघि पनि काउन्सिलले नेपाली नागरिकता त्यागेर विदेशी राहदानी प्राप्त गरेका १७ जनाको लाइसेन्स खारेज गरिसकेको थियो।
डा. देवले भने, “नेपाली नागरिकता त्यागेर विदेशी राहदानी लिएका यी चिकित्सकहरूको लाइसेन्स खारेज गरिएको छ र तिनीहरूको नाम दर्ता किताबबाट समेत हटाइएको छ।” उनले थपे, ‘नेपाल मेडिकल काउन्सिल ऐन २०२० र नियमावली २०२४ तथा नेपाल नागरिकता ऐन २०६३ अनुसार नेपाली नागरिकता त्यागेर विदेशी राहदानी लिएका ती १९ जना चिकित्सकहरूको नाम काउन्सिलको दर्ता किताबबाट दर्ता खारेज गर्ने निर्णय गरिएको हो।’
लाइसेन्स खारेज गरिएका चिकित्सकहरूले ब्रिटिश, क्यानाडियन, अमेरिकन, न्यूजिल्यान्ड, जर्मन, अस्ट्रेलियन र भारतीय नागरिकता लिएपछि काउन्सिलले यस्तो निर्णय गरेको हो। डा. सुमिन्द्र पुन, डा. शैलेश कुमार जयसवाल, डा. भूपेश खड्का, डा. आरती रानाभाट, डा. रमेशराज पहारी, डा. संजोक घले, डा. ऋषिराज बराल, डा. प्रभु पाण्डे, डा. तृप्ति महर्जन र डा. सृजना श्रेष्ठको लाइसेन्स पहिले नै खारेज भइसकेको छ।
त्यस्तै, डा. सुनिता विष्ट, डा. दीपा मल्ल, डा. सौरव जिसी, डा. जेनीषा श्रेष्ठ, डा. प्रभास रेग्मी, डा. दिपिका ज्ञवाली, डा. हेमु चौरसिया, डा. समीक्षा शर्मा र डा. मनोरमा पाण्डेलाई पनि हालै लाइसेन्स खारेज गरिएको छ।






