Skip to main content

७२ वर्षीया पम्फाको मर्माहत आवाज — सरकार! म कतै जान कसरी सक्छु?

गोठाटार सुकुमवासी बस्तीमा प्रहरी प्रशासनले बिहानै माइकिङ गरी बस्ती खाली गर्न आदेश दिएको छ। ७२ वर्षीया पम्फा दमाईले १३ वर्षदेखि बसोबास गरेको टहरा खाली गर्नुपर्ने भएपछि गहिरो चिन्ता व्यक्त गरेकी छिन्। पम्फाले आफ्नो जीवन संघर्ष र परिवारको अवस्था सुनाउँदै उद्धारको प्रतीक्षा गरिरहेकी छिन्। १८ वैशाख, काठमाडौं। प्रहरी प्रशासनले बिहानै माइकिङ गरेर घोषणा गर्‍यो, ‘बस्ती खाली गरौँ।’ गोठाटार (लव डाँडा) सुकुमवासी बस्तीकी ७२ वर्षीया पम्फा दमाई अन्योलमा परिन्। ‘काम कम सुन्छु। खाली गर्नुपर्छ भनेको छ,’ उनलाई छिमेकीले जानकारी गराए। घर-ठाउँ खाली गर्न थालियो। कोही जस्ताको छाना झिक्न थालिए, कोही नयाँ डेरा खोज्न निस्के। कोही पोका पन्तुरा गर्न लागे। तर उनको टहरा नाम मात्रको थियो, चारैतिर जस्ताको पाताले घेरिएको। ‘हिजोको पानीले लुगाफाटा भिज्यो,’ पम्फाले भनिन्। उनी लुगाहरू ढोका अगाडि सुकाउन राखेकी छन्। राम्रोसँग ओत लाग्ने ठाउँ पनि छैन। सबै आफ्नो अत्यावश्यक सामान भइहेको छ। पम्फाले १३ वर्षदेखि यही टहरामा जीवन बिताएकी छिन्। ‘अरू कोठा खोज्न भन्दैछन्, तर म कतै गएको छैन, जान्न पनि। कोठा भाडामा लिन पैसा छैन,’ उनले आफ्नो व्यथा सुनाइन्। पम्फाले लुगा सिलाएर चुल्हो बाल्ने काम गरेकी छन्। ‘लुगा सिलाउने मेसिन छ, अहिले पनि काम गर्न सकिरहेको छु। काम नगरे कसले खान्छ?’ उनी थाकेको छैनन्। तर टहरा खाली गर्न भनिएपछि कहाँ जाने भन्ने चिन्ताले छायो। ‘कतै जान सक्दिनँ। टहरा पनि भत्काउन दिदिनँ। प्रहरीले उठाउन आयो भने लैजान दिन्छु, जहाँ लान्छन् त्यहि जान्छु,’ उनले अन्य विकल्प नभएको पनि सुनाइन्। गत २१ फागुनमा भएका प्रतिनिधिसभा चुनावमा उनले रास्वपालाई मत दिएकी थिइन्। ‘घण्टीलाई मतदान गरेको थिएँ। अहिले यहीले यस्तो गर्‍यो,’ मतदाता परिचयपत्र देखाउँदै उनले आफ्नो गुनासो व्यक्त गरिन्। पम्फाका १६ जना सन्तान जन्मिएका थिए, तर अहिले उनी एक्लै छन्। ‘१४ जना बितिसके। एउटा छोरी र एक छोरा बाँकी छन्। छोरी भोलि आउने बताएकी छिन्,’ उनले सुनाइन्। छोरा फोहोरमैला व्यवस्थापनमा काम गर्छन्। उनीलाई २०५८ सालमा श्रीमान् गुमाएपछि एक्लोपना लागेको छ। २०५८ सालमा पम्फाका श्रीमान् बिरामी परे। भक्तपुरको ठिमीकी उनी विवाह गरी गोठाटार आएकी हुन्। उनीसँग दुई-तीन आना जग्गासमेत थियो। ‘श्रीमानलाई क्यान्सर थियो। उहाँको उपचार र छोराछोरी हुर्काउँदा जग्गा खर्च भयो। ऋण लागेर जग्गा बिक्री गरी सुकुमवासी बस्तीमा आइपुगेँ,’ उनले भनिन्। ‘अब यहाँबाट फेरि कहाँ जाने?’ छिमेकीहरू बस्ती छोडेर जाने तयारीमा छन्। तर पम्फा एक्लै यही टहरामा छन्, उद्धारको प्रतीक्षामा।