
पण्डित दीनबन्धु पोखरेलले १२ भन्दा बढी युरोपेली देशमा ३४ दिन लामो आध्यात्मिक यात्रा गरी प्रवासी नेपालीसँग संवाद गरेका छन्। पोखरेलले प्रवासमा रहेका नेपालीहरूको जीवनशैली, भावनात्मक अवस्था र नयाँ पुस्तामा नेपाली पहिचान जोगाउने चुनौतीबारे गहिरो विश्लेषण गरेका छन्। उनले काठमाडौँको नागार्जुन नगरपालिका–७ रामकोटमा आध्यात्मिक केन्द्र निर्माण गरी नेपाललाई विश्वसामु आध्यात्मिक गुरुराष्ट्रका रूपमा स्थापित गर्ने योजना अघि बढाइरहेका छन्।
एक महिना लामो युरोप भ्रमण सम्पन्न गरेर पण्डित दीनबन्धु पोखरेल हालै नेपाल फर्किएका छन्। बेल्जियमदेखि स्पेन, नर्वे, पोर्चुगल, फ्रान्स, डेनमार्क, फिनल्यान्डलगायत १२ भन्दा बढी देशमा आध्यात्मिक कार्यक्रम सञ्चालन गर्दै उनले प्रवासमा रहेका नेपाली समुदायसँग प्रत्यक्ष संवाद गरे। तीन पटक युरोप यात्रा गरिसकेका पोखरेलले हालसम्म ४४ देशको भ्रमण र करिब ३३ देशमा आध्यात्मिक कार्यक्रम सम्पन्न गरिसकेको बताउँछन्। यसपटकको यात्रामा उनले प्रवासी नेपालीको जीवनशैली, भावनात्मक अवस्था, पुस्तान्तरणको चुनौती र आध्यात्मिक आवश्यकतालाई नजिकबाट नियालेका छन्।
‘काम र दाम’को खोजीमा विदेशिएका नेपालीभित्र लुकेको शान्ति र आत्मसन्तोषको अभावदेखि लिएर नयाँ पुस्तामा नेपाली पहिचान जोगाउने चुनौतीसम्मका विविध पक्षमा पोखरेलले गहिरो विश्लेषण गरेका छन्। प्रवासमा नेपालीको एकता, संस्कारप्रतिको प्रेम र आध्यात्मिक चेतनाको आवश्यकताजस्ता विषयमा आधारित रहेर अनलाइनखबरकर्मी वसन्त रानाभाटले उनीसँग गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ।
युरोपको यो आध्यात्मिक यात्रालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ? यो मेरो तेस्रो युरोप यात्रा हो- सन् २०११, २०२२ र अहिले २०२६। यसपटक ३४ दिनको यात्रा भयो, जुन मेरा लागि ऐतिहासिक रह्यो। जहाँ गए पनि भक्तजनको उत्साहजनक उपस्थिति देखियो। यो यात्राको मुख्य उद्देश्य तीनवटा थिए- पहिलो, प्रवासमा रहेका नेपाली मनलाई जोड्ने। दोस्रो, आध्यात्मिक चेतना जागृत गर्ने। तेस्रो, नेपाली सांस्कृतिक केन्द्र निर्माणको आधार तयार गर्ने। समग्रमा यो यात्रा अनुकरणीय, अभूतपूर्व र अत्यन्तै सफल रह्यो भन्ने मेरो अनुभूति छ।
तपाईंको अनुभवमा विदेशमा बस्ने नेपालीहरूको वास्तविक जीवन कस्तो छ? बाहिर देखिने र भित्रको यथार्थमा कति फरक पाउनुभयो? मैले प्रवचनका क्रममा पनि भन्ने गरेको छु- बाहिरबाट हेर्दा काम र दाम दुवै राम्रो देखिन्छ। तर ‘आराम, नाम र राम’ भने अपेक्षाकृत कम देखिन्छ। भौतिक रूपमा धेरै नेपालीहरू सक्षम र स्थापित छन्, तर भित्रभित्रै केही न केही खालीपन, थकान वा पीडाबोध भने महसुस हुन्छ। यही कारणले मेरो यो आध्यात्मिक यात्राको उद्देश्य केवल ‘काम र दाम’ मा सीमित थिएन, बरु मानिसलाई ‘आराम, नाम र राम’ को महत्त्व बुझाउने पनि थियो।
आध्यात्मिक कार्यक्रमहरू केवल क्षणिक उत्साहमा सीमित हुँदैनन्; यिनले दीर्घकालीन रूपमा व्यक्तिको चेतना र सोचमा प्रभाव पार्छन्। हामीले केही हदसम्म त्यो सन्देश पुर्याउन सफल भयौँ भन्ने लाग्छ। आध्यात्मिक कार्यक्रमहरूमा सहभागी हुँदा मानिसहरूमा उत्साह, ऊर्जा र मानसिक शान्ति देखिन्थ्यो। यसले के स्पष्ट गर्छ भने, बाह्य रूपमा सम्पन्न देखिए पनि धेरैको जीवनमा ‘राम र आराम’ अर्थात् शान्ति र आनन्दको कमी छ। यही अभावलाई केही हदसम्म पूर्ति गर्ने काम यो आध्यात्मिक यात्राले गरेको महसुस गरेको छु।






