प्रियंका गान्धीले केरळमा यूडीएफको अग्रतामा खुशी व्यक्त गर्दै भनिन्- जनताको विश्वास नै मार्गदर्शक शक्ति

२१ वैशाख, काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसकी नेतृ प्रियंका गान्धीले केरळ विधानसभा निर्वाचनमा आफ्ना पार्टीको गठबन्धन युनाइटेड डेमोक्रेटिक फ्रन्ट (यूडीएफ) को अग्रतामा खुशी व्यक्त गरेकी छन् । सामाजिक सञ्जाल एक्समार्फत खुशी व्यक्त गर्दै प्रियंकाले मतदाताहरूलाई धन्यवादसमेत दिएकी छिन् । ‘केरळका मेरा सबै दाजुभाइ र दिदीबहिनीलाई तपाईंहरूको विश्वास र अपार समर्थनका लागि धन्यवाद,’ उनले एक्समा लेखेकी छन्, ‘तपाईंहरूले हामीमाथि देखाएको विश्वास यूडीएफका लागि मार्गदर्शक शक्ति बन्नेछ । किनभने हामी तपाईं सबैका लागि उज्ज्वल भविष्य बनाउन कडा मेहनत गर्नेछौं ।’
प्रियंका केरळकै वायनाड निर्वाचन क्षेत्रबाट लोकसभामा निर्वाचित सांसदसमेत हुन् । २०२४ को लोकसभा चयनमा सोही क्षेत्रबाट उनी निर्वाचित भएकी छन् । पहिले उनका दाजु राहुल गान्धीले वायनाड र उत्तर प्रदेशको रायबरेली क्षेत्रबाट चुनाव जितेका थिए । पछि राहुलले वायनाड छोडेर उपनिर्वाचनमा बहिनी प्रियंकालाई मैदानमा उतारेका थिए जहाँ प्रियंकाले फराकिलो जित हात पार्न सफल भएकी थिइन् । प्रियंकाले पछिल्लो वक्तव्यमा वायनाडका जनतालाई पनि धन्यवाद दिँदै भनिन्, ‘म वायनाडमा रहेका आफ्ना परिवारका सदस्यहरुलाई भन्न चाहन्छु कि तपाईंहरूले यूडीएफलाई फेरि एउटा ठूलो जनादेशसहित ७ मध्ये ७ सिट जिताएर विश्वास देखाउनुभयो ।’
अब वायनाडको विकासका लागि उनीसहित ८ प्रतिनिधि रहेको बताउँदै प्रियंकाले भनिन्, ‘अब तपाईंहरूसँग वायनाडको विकासका लागि मिलेर काम गर्ने ८ प्रतिनिधि छन् । हामी तपाईंहरूको आशा पुरा गर्न पूरा प्रयास गर्नेछौं ।’ केरळ विधानसभा निर्वाचनमा यूडीएफले ठूलो अग्रता लिइरहेको छ । १४० सिटको लागि भएको चुनावमा यूडीएफ वर्तमानमा १०२ सिटमा अग्रता कायम राखिरहेको छ ।






