
फाइल फोटो
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुजमा इरानका सात वटा फास्ट बोटमाथि आक्रमण भएको बताएका छन्। अमेरिकी सेनाले हेलिकप्टर प्रयोग गरी ती डुङ्गामा आक्रमण गरेको जनाएको छ भने इरानले अमेरिकी प्रचारलाई गलत भनेको छ। यस आक्रमणपछि अमेरिकी झण्डावाला ‘एलायन्स फेयरफ्याक्स’ नामक एक जहाज स्ट्रेट अफ होर्मुज पार गर्न सफल भएको जनाइएको छ। २२ वैशाख, काठमाडौं।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले स्ट्रेट अफ होर्मुजमा इरानका सात वटा ‘फास्ट बोट’ भनिने डुंगाहरुमा आक्रमण गरेको बताएका छन्। ट्रम्पले भनेका छन्, ‘हामीले सात वटा साना डुङ्गा (उनीहरूले फास्ट बोट भन्ने गरेका छन्) लाई ढालेका छौं। उनीहरूसँग अब यही मात्रै बाँकी छ।’ प्राय: बन्दजस्तै बनेको यस जलमार्गबाट अलपत्र परेका जहाजहरूलाई सुरक्षित बाहिर निकाल्ने प्रयास भइरहेका बेला अमेरिकाले इरानका डुंगाहरुमाथि आक्रमण गरेको जनाएको हो।
अमेरिकाले ‘प्रोजेक्ट फ्रिडम’ अभियान अन्तर्गत इरानी बोटहरुमा आक्रमण गरेको थियो। अमेरिकी सेनाले हेलिकप्टर प्रयोग गरेर ती डुङ्गामा आक्रमण गरेको जनाएको छ। तर इरानले भने अमेरिकी आक्रमणको प्रचार पूर्णरुपमा गलत भएको बताएका छन्। यसबीचमा अमेरिकी झण्डावाल एक जहाज स्ट्रेट अफ होर्मुज पार गर्न सफल भएको जनाइएको छ। एक ढुवानी कम्पनी मर्स्कका अनुसार, उसको अमेरिकी झण्डावाला एउटा जहाज अमेरिकी सैन्य सुरक्षा अभियान मार्फत सफलतापूर्वक स्ट्रेट अफ होर्मुज पार गर्न सफल भएको हो। ‘एलायन्स फेयरफ्याक्स’ नामक सो जहाज फेब्रुअरीदेखि खाडी क्षेत्रमा अलपत्र थियो।
मर्स्कले आफ्नो व्यावसायिक जहाजको यात्रा कुनै अवरोध बिना सम्पन्न भएको र सबै चालकदल सुरक्षित रहेको जनाएको छ। अमेरिका र इजरायलले फेब्रुअरीमा इरानमाथि हवाई आक्रमण गरेयता स्ट्रेट अफ होर्मुज प्राय: अवरुद्ध छ। अमेरिका र इजरायलको आक्रमणको प्रतिउत्तरमा इरानले विश्वको करिब २० प्रतिशत तेल र तरल प्राकृतिक ग्यास ओसारपसार हुने यो महत्वपूर्ण जलमार्ग अवरुद्ध गरेको थियो। अप्रिलको सुरुमा अमेरिका र इरानबीच युद्धविराम घोषणा भएता पनि त्यसयता थोरै मात्र जहाजहरूले यो मार्ग प्रयोग गर्न सकेका छन्। साथै, अमेरिकाले इरानी बन्दरगाहहरूमा आफ्नै नाकाबन्दी पनि लागू गरेको छ। फेब्रुअरीदेखि सुरु भएको अमेरिका–इरान द्वन्द्वपछि करिब २ हजार जहाजमा रहेका २० हजार नाविकहरू सो क्षेत्रमा फसेका छन्। यसअघि अमेरिकाले आफ्ना नौसेना विध्वंसक जहाज र अमेरिकी झण्डावाला व्यापारीक जहाजहरूले सोमबार जलडमरूमध्य पार गरेको दाबी गरेको थियो। इरानले यसलाई ‘पूर्ण रूपमा गलत’ भन्दै आफ्नो सेनाले अमेरिकी युद्धपोततर्फ चेतावनी स्वरूप गोली चलाएको बताएको छ, जसलाई अमेरिकाले अस्वीकार गरेको छ।






