
सगरमाथा आधार शिविरबाट दोस्रो शिविरतर्फ जाँदै गर्दा खुम्बु आइसफलमा ठूलो सेराक भत्किँदा भारतीय आरोही निमिस कुमार सिंह र शेर्पा गाइड पेम्बा टेन्डुक घाइते भएका छन्। यो घटना बिहान ५:४५ बजे भएको थियो। उद्धारका लागि लुक्लाबाट हेलिकप्टर बिहान ६:३० बजे घटनास्थलमा पुगेको थियो। उनीहरूलाई काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारका लागि लगिएको छ र अवस्था खतरामुक्त रहेको पर्यटन विभागले जनाएको छ। २२ वैशाख, काठमाडौं।
सगरमाथा आधार शिविरबाट दोस्रो शिविरतर्फ रोटेसनका लागि जाँदै गर्दा खुम्बु आइसफलमा आरोही र शेर्पा गाइड घाइते भएका छन्। पर्यटन विभागका अनुसार, गत हप्ता मात्र खुला गरिएको खुम्बु आइसफल जोखिमपूर्ण मानिएको ठूलो सेराक (हिउँको थुम्का) भत्किँदा आरोहीहरूको बाटोमा असर परेको थियो। सो सेराक पतनका कारण भारतीय (पुने) का ४० वर्षीय आरोही निमिस कुमार सिंह र ४४ वर्षीय शेर्पा गाइड पेम्बा टेन्डुक घाइते भएका छन्।
घटनालगत्तै पायोनियर एड्भेन्चर प्रालि र समिट फोर्स एक्स्पिडिसनका शेर्पा गाइड टोलीले तुरुन्त उद्धार गरी आधार शिविरमा जानकारी गराएका थिए। आधार शिविरबाट सेभेन समिट टोलीका समन्वयमा बिहान ६:३० बजे लुक्लाबाट हेलिकप्टरले घटनास्थलमा पुगेर आरोहीहरूलाई उद्धार गरेको थियो। सेभेन समिट ट्रेकको जानकारी अनुसार घाइतेहरूलाई अहिले काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारका लागि लगिएको छ। उनीहरूको अवस्था खतरामुक्त रहेको पर्यटन विभागले जनाएको छ।






