Skip to main content

२५ वर्षदेखि सारङ्गीको संगीतमार्फत जीवन यापन गर्दै आएका गन्धर्वहरू

२३ वैशाख, धरान (सुनसरी) । सुवास गन्धर्वले सारङ्गी बजाउँदै र गीत सुमधुर स्वरमा प्रस्तुत गर्दै २५ वर्ष बिताइसकेका छन्। उनका साथी सुजन गन्धर्व पनि आठ वर्षदेखि सारङ्गीको मधुर तालमा गीत गाउँदै आएका छन्। उनीहरू हरेक दिन धरानस्थित श्रम संस्कृति पार्कमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सारङ्गी र मादलको संगतमा गीत गाउँछन्। एक जना मादल बजाउँछन् भने अर्को सारङ्गीमा संगीत गर्दै गीत गाउँछन्, जुन उनीहरूको दैनिकीको अभिन्न हिस्सा बनेको छ। सारङ्गीको मधुर स्वरलहरीद्वारा पार्क भ्रमण गर्ने सर्वसाधारणलाई मनोरञ्जन प्रदान गर्दै उनीहरूले यस कार्यबाट जीविकोपार्जन गरिरहेका छन्। दर्शक र पर्यटकहरूले आफ्नो इच्छाअनुसार आर्थिक सहयोग पनि प्रदान गर्छन्।

सुवास गन्धर्व भन्छन्, ‘बाबुआमाबाटै यस पेशामा लागेर परिवार पाल्दै आएको छु। मेरा बुवाले सारङ्गी बजाउँदै हामीलाई हुर्काउनु भएको थियो, मैले त्यो परम्परालाई निरन्तरता दिएको छु।’ उनले थपे, ‘पहिले गाउँमा यातायात सुविधा कम थियो। टाढा–टाढा दौडिएर गीत गाउँने चलन थियो। अहिले सवारी सजिलो भएको छ।’ उनले नेपालका पूर्वदेखि पश्चिमका सबै प्रमुख शहरहरू र भारतको सिक्किम तथा दार्जिलिङमा समेत गीत गाएको अनुभव साझा गरे। सडक र सार्वजनिक स्थानहरूमा गीत गाउँदा पाइने स्वतःस्फूर्त सहयोग नै मुख्य आम्दानीको स्रोत रहेको बताए।

सुवास गन्धर्वले बताए अनुसार, ‘भ्वाइस अफ नेपाल’ कार्यक्रममा भाग लिएर ब्याटल चरणसम्म पुग्न सफल भएका थिए र ‘इन्द्रेणी’ कार्यक्रममा पनि गीत गाउने अवसर पाएको अनुभव छ। तर त्यहाँबाट अपेक्षित आम्दानी नहुँदा पुनः सारङ्गी बजाएर जीविकोपार्जन गर्न थालेका छन्। काठमाडौं, पोखरा लगायतका विभिन्न शहरका गल्लीहरूमा सारङ्गी बजाइसकेको उनको अनुभव छ। सुजन गन्धर्वले भारतको दार्जिलिङमा लामो समय रोजगार गरेपछि गाउँ फर्केर आठ वर्षदेखि सारङ्गी बजाउँदै गीत गाउँदै जीवनयापन गर्दै आएका छन्। उनले यो परम्परागत पेशालाई जोगाउने उद्देश्यले निरन्तरता दिइरहेका छन्।

‘सारङ्गी बजाएर गीत गाउनु गन्धर्व समुदायको पुख्र्यौली पेशा हो, हाम्रो संस्कृति र पहिचान यही हो’, सुजनले भने, ‘तर अहिले नयाँ पुस्ता अन्य पेसातर्फ आकर्षित हुँदै गएर यो मौलिक कला संकटमा परेको छ।’ आधुनिक प्रविधिको विकाससँगै मनोरञ्जनका माध्यमहरू परिवर्तन भइरहेका बेला गन्धर्वहरूको परम्परागत पेशा जोगाउन चुनौती थपिएको पनि बताए। स्वास्थ्यले साथ दिन्छ भने यो पेशालाई निरन्तरता दिने आशा उनीहरूले व्यक्त गरे। नेपालमा लोपोन्मुख जातिका रूपमा रहेको गन्धर्व जाति मुख्यतः भोजपुर, कास्की, तनहुँ, लमजुङ, गोरखा, चितवन, बाग्लुङ, पाल्पा, दैलेख, सुर्खेत लगायतका जिल्लामा बसोबास गर्छ। नेपाली लोकसङ्गीत र रंगमञ्च क्षेत्रमा पुराना समयदेखि संरक्षण, प्रवर्द्धन र विकास गर्दै आएका लोकजीवनका संवाहक गन्धर्व जाति र तिनका वाद्ययन्त्र सारङ्गी–मादल पनि त्यही एक हुन्। आज गन्धर्वहरूले लोकगीतलाई स्थायित्व दिँदै आफ्नो पेशाको रूपमा अंगीकार गरिरहेका छन्।