Skip to main content

भारतले नेपाललाई मल र इन्धन निरन्तर आपूर्तिको प्रतिबद्धता व्यक्त गर्यो

भारतीय विदेश मन्त्रालयले नेपाल र भारतबीचको सम्बन्ध बहुआयामिक रहेको औँल्याउँदै पेट्रोलियम पदार्थ र रासायनिक मलको निरन्तर आपूर्तिको प्रतिबद्धता दोहोर्‍याएको छ। प्रवक्ता रणधीर जैसवालले नेपालमा पेट्रोलियम पदार्थ र रासायनिक मल आपूर्तिसम्बन्धी सम्झौता अनुसार निरन्तर आपूर्ति भइरहेको जानकारी दिएका छन्। नेपालले भारतसँग रासायनिक मल खरिदका लागि सरकार-सरकार सम्झौता गरेको छ भने पेट्रोलियमका लागि दशकौंदेखि व्यावसायिक सम्बन्ध कायम छ। २४ वैशाख, काठमाडौं।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बिहीबार साप्ताहिक मिडिया ब्रीफिङमा दुई देशबीचको व्यापारिक तथा रणनीतिक सहकार्य मजबुत रहेको बताए। नेपालमा अत्यावश्यक वस्तु आपूर्तिबारे सोधिएको प्रश्नको जवाफ दिँदै उनले दुई देशबीचको आयात-निर्यात प्रक्रिया निरन्तर जारी रहेको जानकारी दिए।

‘नेपाल र भारतबीच पेट्रोलियम पदार्थका सन्दर्भमा रहेको सहयोग सम्झौता अनुसार हामीले इन्धन आपूर्ति गरिरहेका छौं,’ उनले भने। ‘यो प्रक्रिया आगामी दिनहरूमा पनि यथावत् जारी रहनेछ।’ नेपालका लागि संवेदनशील ठानिएको रासायनिक मलको विषयमा भारतले सकारात्मक अभिमत प्रकट गरेको उनले बताए। ‘नेपालमा आवश्यक पर्ने रासायनिक मलको आपूर्ति हामीले गर्नेछौं,’ उनले थपे। पछिल्लो समयमा नेपालले भारतसँग रासायनिक मल खरिदका लागि ‘जीटुजी’ (सरकार-सरकार) सम्झौता गरेको छ। साथै, पेट्रोलियम पदार्थका लागि नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आईओसी)बीच दशकौंदेखिको व्यावसायिक सम्बन्ध कायम छ।