अमेरिकामा गैरआवासीय नेपालीको अपेक्षा : आउने पुस्तालाई जरा प्रति गर्व हुने वातावरण सिर्जना होस्

२५ वैशाख, न्युयोर्क। अमेरिकाको ओहायोस्थित गैरआवासीय नेपालीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली मूलका नागरिकका लागि विशेष डेस्कको व्यवस्था गरिएकोमा खुसी व्यक्त गरेका छन्। एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले एक कार्यक्रमका बीचमा नेपाल सरकारले काठमाडौं विमानस्थलको प्रस्थान तथा आगमन कक्षमा नेपाली मूलका नागरिकका लागि छुट्टै डेस्कको व्यवस्था गरेकोमा सरकारलाई धन्यवाद दिएको छ। एएनओका अध्यक्ष डिल्ली अधिकारीले अमेरिकास्थित नेपाली कार्यवाहक राजदूत शरदराज आरणलाई समारोहका क्रममा धन्यवाद पत्र प्रदान गरेका छन्। नेपाल सरकारले गत चैत्र ८ मा निर्णय गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली मूलका नागरिकहरूको लागि छुट्टै डेस्क स्थापना गर्ने निर्णय गरेको थियो।
‘एएनओको विशेष पहल र निवेदनलाई हृदयंगम गरी सरकारले चालेको यो कदमले विश्वभर छरिएर रहेका नेपाली मूलका समुदायमा मातृ तथा पितृभूमिप्रतिको भरोसा र अपनत्वलाई थप प्रगाढ बनाएको छ,’ धन्यवाद पत्रमा उल्लेख छ। यो सम्बन्ध केवल भौगोलिक सीमा वा राहदानीमा सीमित नभएको पत्रमा भनिएको छ। ‘यो त हाम्रो पुर्खाको इतिहास, हाम्रो पहिचान र भावनात्मक अस्तित्वसँग जोडिएको अटुट बन्धन हो। विमानस्थलमा पाइला टेकेसँगै आफ्नै देशले गरेको यो न्यानो स्वागत र सम्मानले हामीलाई केवल सुविधा मात्र दिएको छैन, बरु हामी जहाँ भए पनि नेपाल हाम्रो साथमा छ भन्ने आत्मीय अनुभूतिसमेत दिलाएको छ,’ पत्रमा थप भनिएको छ। ‘नेपाली मूललाई नेपालसँग जोड्ने हाम्रो साझा अभियानमा यो निर्णयले नयाँ ऊर्जा र प्रेरणा प्रदान गरेको छ। यसले भावी पुस्तालाई समेत आफ्नो जरा र माटोप्रति गर्व गर्ने वातावरण सिर्जना गर्ने छ भन्ने हाम्रो विश्वास छ।’
समारोहमा गैरआवासीय नेपालीसम्बन्धी विधेयक २०८२ को पहिलो मस्यौदामा नेपाली मूलका नागरिकप्रति भेदभाव गरिएको भन्दै नेपाल सरकारको ध्यानाकर्षण गराइएको थियो। अध्यक्ष अधिकारीले कार्यवाहक राजदूतलाई त्यसबारे ध्यानाकर्षण पत्र समेत हस्तान्तरण गरेका थिए। जसमा संसारका जुनसुकै मुलुकमा जन्मिए पनि विश्वभरका नेपाली मूलका मानिसहरूलाई नेपाल सरकारले भेदभाव नगरी नेपाली मूलको परिचय पत्र दिनुपर्ने उल्लेख गरिएको छ।






