Skip to main content

अमेरिकी बालबालिकाको डेटा सुरक्षाका लागि टिकटकसँग सम्झौतामा जुट्दै प्रशासन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बालबालिकाको गोपनीयता उल्लंघनसम्बन्धी मुद्दालाई समाधान गर्न भिडियो साझेदारी एप टिकटकसँग करिब ४० करोड अमेरिकी डलर बराबरको सम्झौता गर्न लागेको छ। अमेरिकी सञ्चारमाध्यम एबीसी न्युजका अनुसार, उक्त रकम वाशिङ्टन डीसी क्षेत्रमा ट्रम्पले प्रस्ताव गरेका ‘ब्युटिफिकेसन प्रोजेक्ट’ सम्बन्धी छलफलमा प्रयोग गरिनेछ। ट्रम्पले यसअघि राजधानी क्षेत्रमा विभिन्न परियोजनाका लागि अमेरिकी कंग्रेससँग १० अर्ब डलरको बजेट माग गरिसकेका छन्।

रिपोर्ट अनुसार, ह्वाइट हाउसका अधिकारीहरूले अर्लिङ्टन राष्ट्रिय समाधिस्थल नजिक ट्रम्पले प्रस्ताव गरेको ७६ मिटर अग्लो ‘ट्रायम्फल आर्च’ निर्माणका लागि उक्त रकम कानुनी रूपमा प्रयोग गर्न सकिने विषयमा केही सातादेखि छलफल गरिरहेका छन्। ह्वाइट हाउसले यसबारे कुनै टिप्पणी गर्न अस्वीकार गर्दै सबै प्रश्नहरू अमेरिकी न्याय विभागतर्फ पठाएको छ, भने न्याय विभाग पनि यससम्बन्धमा तत्काल जवाफ दिएको छैन। टिकटकले पनि समाचार संस्थाको टिप्पणी अनुरोधमा जवाफ दिएको छैन।

अमेरिकी न्याय विभागले सन् २०२४ मा टिकटक र यसको मातृ कम्पनी बाइटडान्सविरुद्ध मुद्दा दायर गरेको थियो, जसमा १३ वर्षमुनिका लाखौं अमेरिकी बालबालिकाको व्यक्तिगत विवरण अभिभावकको अनुमति बिना संकलन गरेको आरोप लगाइएको थियो। अमेरिकी सरकारले टिकटकले बालबालिकामुखी सेवाबाट १३ वर्षमुनिका प्रयोगकर्ताको व्यक्तिगत विवरण संकलन गर्नुअघि अभिभावकको सहमति लिनुपर्ने कानुन ‘चिल्ड्रेन्स अनलाइन प्राइभेसी प्रोटेक्सन एक्ट’ उल्लंघन गरेको दाबी गरेको थियो।

न्याय विभाग र संघीय व्यापार आयोग (एफटीसी) ले दायर गरेको मुद्दामा टिकटकले बालबालिकालाई नियमित अकाउन्ट खोल्न अनुमति दिएको, उनीहरूले छोटो भिडियो तथा सन्देश अन्य प्रयोगकर्तासँग साझा गर्न पाएको र यस क्रममा उनीहरूको व्यक्तिगत जानकारी अभिभावकको अनुमति बिना सङ्कलन गरेको उल्लेख गरिएको छ। यसैबीच, टिकटकको चिनियाँ स्वामित्व रहेको बाइटडान्सले अमेरिकी डाटा सुरक्षालाई सुनिश्चित गर्न र अमेरिकामा सम्भावित प्रतिबन्ध टार्न जनवरीमा बहुमत अमेरिकी स्वामित्व रहने संयुक्त उद्यमसम्बन्धी सम्झौता अन्तिम गर्दैछ भन्ने जनाइएको छ।