Skip to main content

मुख्यमन्त्री शाहले सरकार परिवर्तन र गगन थापाको आगमनबारे बोले

२६ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसका सभापति गगन थापा धनगढी आउँदै गर्दा उनी आउने चर्चा भन्दा पनि सरकार फेरबदलको चर्चा बढी गरिएको बताएका छन् । शनिबार धनगढीमा सुरु भएको कांग्रेसको प्रदेश स्तरिय भेलाको उद्घाटन सत्रमा बोल्दै मुख्यमन्त्री शाहले सभापति थापाले अघि नै त्यस्तो अवस्था देखिएको बताएका छन् ।

‘सभापति ज्यु, तपाईँको आगमनको चर्चासँगै तपाईँ आउने कार्यक्रमभन्दा बढी सरकारले आफ्नो पद परिवर्तन र फेरबदल गर्ने विषय सुदूरपश्चिममा बहसको बिषय बन्यो,’ मुख्यमन्त्री शाहले भने, ‘म भन्न चाहन्छु, मैले शारीरिक, मानसिक र वैचारिक रूपमा तपाईँसँग प्रतिस्पर्धा गर्ने हिम्मत राख्छु । मसँग त्यो साहस छ । त्यसैले गैरजिम्मेवार र गैरराजनीतिक संस्कार नदेखाउन सबैलाई अनुरोध गर्दछु ।’

त्यस्ता अफवाह फैलाउनेहरूले सभापति थापाको बदनामी गर्न खोजेको उनले बताए । उनले थपे, ‘म भन्न चाहन्छु – जसरी तपाईँहरूको कुरा बजार र मिडियामा फेलनु भएको छ, सभापतिलाई बदनाम गर्न समवायी सांसद फिर्ता ल्याएर सम्म सरकार परिवर्तन गर्ने भन्ने कुरा भएको छ ।’ यस्ता कुरामा आफू विश्वस्त नरहेको उनले उल्लेख गरे । ‘म नेपाली कांग्रेसको सिपाही हुँ, पार्टीका मूल्य र मान्यतामा अडिग छु । त्यसैले यस्तो भ्रम फैलाउने, पार्टीलाई विवादमा पार्ने, कमजोर गर्ने र सभापतिलाई पनि कमजोर बनाउने अभिव्यक्ति कसैले नदिनु होला,’ मुख्यमन्त्री शाहले बताए ।

आफू गगन थापालाई स्वागत गर्न एयरपोर्ट गएको र उनीसँगै मञ्चमा उपस्थित भईसकेको तर पद जोगाउने उद्देश्य नभएको उनले स्पष्ट पारे । ‘म तपाईँहरूलाई भन्न चाहन्छु– मुख्यमन्त्रीको पद गौण छ, हाम्रो लोकतान्त्रिक प्रक्रिया र नेताहरू छन्, नेतृत्व कसलाई दिने, गठबन्धन कससँग गर्ने भन्ने कुरा हुन्छ,’ उनले भने । कांग्रेस एकताबद्ध होस् भन्ने उद्देश्यका साथ मञ्चमा उभिएको उनले बताए । ‘म यहाँ उभिएँ गगन थापा नेपाली कांग्रेसको सभापति बन्नुहोस् भन्ने भावना बोकेर । कांग्रेस कमजोर भएको बेला सो शक्ति पुनःजागृत कसरी गर्ने भन्ने उद्देश्य लिएर हो,’ उनले थपे ।