Skip to main content

सरकारले बजार सुशासनका लागि ‘मूल्य पारदर्शिता सप्ताह’ सञ्चालन गर्ने निर्णय

२६ वैशाख, काठमाडौं । सरकारले आगामी सोमबारदेखि बजार सुशासनलाई मजबुत बनाउन ‘मूल्य पारदर्शिता सप्ताह’ सञ्चालन गर्ने निर्णय गरेको छ। बजारमा रहेका अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्न देशभर विशेष अभियान सञ्चालन गर्ने तयारीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले आम जनताको दैनिक जीवनमा पर्ने मूल्यवृद्धिको समस्यालाई समाधान गर्न यो अभियान आवश्यक भएको बताएकी छन्।

सर्वसाधारणलाई यस अभियानमा सक्रिय सहभागी हुन आग्रह गर्दै उनले यो कार्यक्रम सोमबारबाट सुरु भई जेठ ३ गतेसम्म चल्ने जानकारी दिइन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले देशभरका सम्बन्धित निकायहरूलाई यसलाई प्रभावकारी रूपमा लागू गर्न निर्देशन जारी गरिसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, स्थानीय तहहरूले आफ्ना क्षेत्रका वस्तु तथा सेवा प्रदायकहरूलाई अनिवार्य रूपमा मूल्यसूची राख्न आग्रह गरी नियमित रूपमा अनुगमन गर्न निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालयहरूले बजार अनुगमन समितिलाई सक्रिय बनाएर मूल्य पारदर्शिता सुनिश्चित गर्न प्रचारप्रसार र नियमनका जिम्मेवारीहरू तोकेको जानकारी पनि प्रदान गरिएको छ। केन्द्रीय तथा प्रदेश स्तरका बजार अनुगमन समितिले मूल्यांकन, अनुगमन टोली परिचालन, र नियम उल्लंघन गर्नेहरूलाई कठोर कानुनी कारबाही गर्न प्रक्रिया अघि बढाउने छ।