Skip to main content

फिनल्याण्डमा रहेकी निमीले सडकका कुकुरहरूको जन्मदिनका अवसरमा खाना खुवाइन्

फिनल्याण्डमा रहेकी निमी शेर्पाले आफ्नो जन्मदिनको अवसरमा इलामका सडक कुकुरहरूलाई खाना खुवाउने प्रस्ताव राखेकी थिइन्। इलाम ग्रीनका स्वयंसेवकहरूले ११२ वटा सडक कुकुरलाई खाना खुवाए र तीन कुकुरलाई निशुल्क उपचार पनि प्रदान गरे। राजेश पराजुलीले स्थानीय सरकारले सडक कुकुर व्यवस्थापनका लागि वार्षिक बजेट छुट्याउनुपर्ने माग गरेका छन्। इलामको ओसिलो सडकमा रात कटाउने ती निर्दोष प्राणीहरूलाई थाहा थिएन, सात समुद्रपारी फिनल्याण्डमा कसैको मन उनीहरूको लागि रोइरहेको छ।

करीब ४ हजार माइलको दूरी, न बाटो एउटै, न मौसम। तर, भूगोलले छुट्याए पनि एउटा संवेदनाले इलाम र फिनल्याण्डलाई अघिल्लो साता एकै ठाउँमा जोडिदियो। इलामबाट सञ्चालित चर्चित फेसबुक पेज ‘इलाम ग्रीन’का सञ्चालक राजेश पराजुलीको मोबाइलमा वैशाख २१ गते साँझ एउटा विदेशी नम्बरबाट फोन आयो। फोन गर्ने व्यक्ति थिइन्– माईजोगमाई गाउँपालिका–१, नयाँबजार शंखबुङकी निमी शेर्पा, जो हाल वैदेशिक रोजगारीका लागि फिनल्याण्डमा छिन्।

औपचारिक अभिवादनसँगै निमीले भावुक हुँदै भनिन्, ‘सर, इलाममा सडक कुकुरहरूको अवस्था देख्दा मनै थामिएन। आफ्नो जन्मदिनमा त मानिसलाई त सधैं खुवाइन्छ, यसपटक ती बोलि नभएका प्राणीहरूलाई सम्झौँ होला?’ मानवताका लागि समर्पित पराजुलीका लागि यो प्रस्ताव नितान्त नयाँ र मर्मस्पर्शी थियो। वृद्धाश्रम, अनाथालय, बौद्धिक अपांगता केन्द्र र अस्पतालहरूमा इलाम ग्रीनमार्फत उनी सेवा गर्दै आएका थिए। तर अपहेलित अवस्थाका कुकुरहरूलाई सहयोग पुर्‍याएर कसैले जन्मोत्सव मनाउने यो पहिलो घटना थियो।