Skip to main content

इरानसँगको युद्धविराम ‘लाइफ सपोर्ट’ मा रहेको ट्रम्पको टिप्पणी

२९ वैशाख, काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच एक महिनादेखि जारी युद्धविराम अहिले ‘लाइफ सपोर्ट’ मा रहेको बताएका छन्। सोमबार ह्वाइट हाउसको ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै उनले वर्तमान युद्धविराम अत्यन्तै कमजोर अवस्थामा रहेको बताएका छन्। राष्ट्रपति ट्रम्पको अभिव्यक्तिबाट यो युद्धविराम औपचारिक रूपमा कायम भए तापनि जुनसुकै बेला भंग हुन सक्ने कमजोर अवस्थामा रहेको अनुमान गर्न सकिन्छ।

ट्रम्पको पछिल्लो अभिव्यक्तिपछि इरानी संसदका सभामुख मोहम्मद गालिबाफले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘इरानको सेना कुनै पनि हमलालाई जवाफ दिन तयार छ।’ बिहीबार इरानले अमेरिकालाई प्रस्ताव पठाएको थियो जसमा युद्ध समाप्ति र होर्मुज स्ट्रेट फेरि खोल्नुपर्ने सर्त राखिएको थियो। ट्रम्पले इरानको प्रस्ताव अस्वीकार गरेको बताइएको छ। इरानको प्रस्तावमा तत्काल सबै मोर्चामा युद्ध अन्त्य गर्नुपर्ने र लेबनानमा भइरहेको इजरायली हमलालाई रोक्नुपर्ने माग गरिएको थियो। त्यसैगरी, अमेरिकी नौसैनिक नाकाबन्दी समाप्त गरी इरानमाथि आगामी दिनमा कुनै पनि हमला नगरिने ग्यारेन्टी पनि माग गरिएको छ।