Skip to main content

स्मार्ट टेलिकमका लिलामी उपकरणका कागजात सीआईबीले नियन्त्रणमा लियो

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन स्मार्ट टेलिकमको लिलामी उपकरणका कागजात नियन्त्रणमा लिएको छ। एनसेलले सीआईबीको माग अनुसार लिलामी उपकरणका कागजात उपलब्ध गराएको स्रोतले जनाएको छ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डेलाई उपकरण लिलामी विवादमा बुधबारदेखि नियन्त्रणमा लिइएको छ। ३१ वैशाख, काठमाडौं।

तत्कालीन दूरसञ्चार कम्पनी स्मार्ट टेलिकमको लिलामी उपकरणका कागजात प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नियन्त्रणमा लिएको छ। लिलामीमा राखिएका उपकरण सकारेको एनसेललाई पत्र लेख्दै सीआईबीले ती कागजातहरू मागेको थियो। सो अनुसार एनसेलले उक्त कागजातहरू उपलब्ध गराएको स्रोतले जनाएको छ। ‘जिम्मेवार कर्पोरेट संस्था भएकाले एनसेलले सीआईबीको माग अनुसार लिलामी उपकरणका कागजात बुझाएको छ,’ स्रोतले भने, ‘यसले प्रहरीले गरेको अनुसन्धानमा सहयोग पुग्नेछ।’

प्रहरीले स्मार्ट टेलिकमको औजारहरु लिलामी गरेको विषयलाई लिएर नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सिइओ ज्योतिप्रकाश पाण्डेलाई बुधबारदेखि नियन्त्रणमा लिइएको छ। तत्कालीन स्मार्ट टेलिकमले बैंकबाट ४ अर्ब ६० करोड रुपैयाँ ऋण तिर्न नसकेपछि बैंकले ती उपकरणहरु लिलामीमा बिक्री गरी ऋण तिर्ने प्रयास गरेको थियो। विधिवत् लिलामी प्रक्रियामा ती उपकरण एनसेलले खरिद गरेको थियो। यस विषयमा प्रहरीले पाण्डेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ भने एनसेलबाट लिलामी बिक्री सम्बन्धी कागजातहरु लिएको छ।