Skip to main content

युरोपका ४२ प्रतिशत इन्टरनेट प्रयोगकर्ताहरु अनलाइन दुर्व्यवहारको शिकार

युरोपका ४२ प्रतिशतभन्दा बढी इन्टरनेट प्रयोगकर्ताले सन् २०२५ मा अनलाइनमा अपमानजनक वा द्वेषपूर्ण सन्देशहरूको सामना गरेको तथ्याङ्क सार्वजनिक भएको छ। युरोपेली संघको तथ्याङ्क एजेन्सी ‘युरोस्टेट’ले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार, ईयू क्षेत्रका ४२.३ प्रतिशत इन्टरनेट प्रयोगकर्ताहरूले कुनै न कुनै समूह वा व्यक्तिलाई लक्षित गरी राखिएका द्वेषपूर्ण सामग्रीहरू देखेको रिपोर्ट गरेका छन्। यो प्रतिवेदन ईयूका २० सदस्य राष्ट्रहरूबाट सङ्कलन गरिएको तथ्याङ्कमा आधारित छ।

तथ्याङ्कअनुसार, हङ्गेरीमा अनलाइन दुर्व्यवहारको दर सबैभन्दा उच्च ६०.९ प्रतिशत रेकर्ड गरिएको छ भने फिनल्यान्डमा ५६.७ प्रतिशत र स्लोभाकियामा ५६.२ प्रतिशत प्रयोगकर्ताहरू यसको चपेटामा परेका छन्। अर्कोतर्फ, लाटभियामा सबैभन्दा कम २९.३ प्रतिशत प्रयोगकर्ताले मात्र यस्ता सामग्री देखेको बताएका छन् भने ग्रीसमा २९.४ प्रतिशत, जर्मनीमा ३३.७ प्रतिशत र लिथुआनियामा ३३.८ प्रतिशत प्रयोगकर्ताले यस्तो अनुभव गरेका छन्।

युरोस्टेटका अनुसार, राजनीतिक वा सामाजिक विचारका कारण मानिसहरू सबैभन्दा बढी अनलाइन दुर्व्यवहारको सिकार हुने गरेका छन्, जसको हिस्सा ३३.७ प्रतिशत रहेको छ। त्यसैगरी, जातीय वा पहिचानका आधारमा २५.५ प्रतिशत, यौनिक अभिमुखीकरणका कारण २३.४ प्रतिशत र धर्म वा आस्थाका आधारमा २२.८ प्रतिशत प्रयोगकर्ताले द्वेषपूर्ण सन्देशहरूको सामना गर्नुपरेको छ। लैङ्गिक आधारमा १६.९ प्रतिशत, अपाङ्गताका कारण ११.५ प्रतिशत र उमेरका आधारमा ८.८ प्रतिशत प्रयोगकर्ता अनलाइन दुर्व्यवहारको निशानामा परेको प्रतिवेदनमा उल्लेख छ। यो सर्वेक्षण १६ देखि ७४ वर्ष उमेर समूहका र सर्वेक्षण हुनुभन्दा तीन महिनाअघिसम्म नियमित इन्टरनेट प्रयोग गर्ने नागरिकहरूमाझ गरिएको थियो।