
२ जेठ, काठमाडौं । युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वको क्षेत्रमा सक्रिय रहेको बास नेपाल काठमाडौं शाखाको अध्यक्षमा मेनुका शाही चयन भएकी छन्। अध्यक्ष पद सम्हालेपछि शाहीले संस्थाको उद्देश्य, नीति तथा सामाजिक अभियानलाई अझ प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनले युवाको नेतृत्व विकास, सामाजिक सचेतना, मानव अधिकार, सुशासन र सकारात्मक परिवर्तनको क्षेत्रमा संस्थालाई थप सक्रिय र परिणाममुखी बनाउने योजना प्रस्तुत गरिन्। शाहीका अनुसार, संस्थालाई पारदर्शी, उत्तरदायी र जनमुखी बनाउँदै सदस्यहरूबीच सहकार्य, समन्वय तथा सहभागितामूलक नेतृत्वलाई मुख्य प्राथमिकतामा राखिनेछ।
साथै, सामाजिक विकृति विरुद्ध सचेतनामूलक कार्यक्रमहरू, युवाहरूको क्षमता अभिवृद्धि तथा समाजसेवामूलक गतिविधिहरूलाई निरन्तरता दिइने उनले बताइन्। शनिबार काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न छैटौं अधिवेशनबाट शाही अध्यक्षमा चयन भएकी हुन्। शाखाकी निवर्तमान अध्यक्ष शकुन्तला शाहको अध्यक्षतामा सम्पन्न उक्त अधिवेशनबाट उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः सुशीला धमाला, रमेश विश्वकर्मा, जगदिश्वरी शाह र निश्चल न्यौपाने चयन भएका छन्। सदस्यहरूमा पार्वती पौडेल अधिकारी, कमलप्रसाद शर्मा, रोशन पान्डे र निरुता उप्रेती छनोट भएका छन्।

